काठमाडौं: फिल्म ‘गोपी’को प्रचार प्रसार सुरु भइसकेको छ। फिल्मले देशमै युवा रोजगारीको कथा भन्छ। यस्तोमा फिल्म युनिटले विषयवस्तुसँग सम्बन्धित व्यक्तिहरुलाई भेटे र, फिल्म बारे जानकारी दिए।
मङ्गलबार टिमले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटेको थियो। मन्त्रीले फिल्म ‘गोपी’प्रति आफ्नो ऐक्यवद्धता जनाएका थिए।
त्यसकै भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले पनि निर्माता, निर्देशक एवं कलाकारसँग भेट गरे। उनले पनि फिल्मप्रति ऐक्वद्धता जनाएका युनिटले जनाएको छ। दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणि खनाल कला पारखी हुन्। उनले नेपाली फिल्मले यस्तो गम्भिर तथा सान्दर्भिक विषय उठाएकोमा खुशी व्यक्त गरे। साथै फिल्म निर्माण टिमलाई सफलताको शुभकामना दिएका थिए।
‘म नेपाली फिल्मको नियमित दर्शक हुँ। हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा पनि नेपाली फिल्म हेर्ने गर्छु। धेरै फिल्ममा कलाकारको अभिनय यथार्थपरक नभएको पाएको छु, ‘उनले भने, ‘तर गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरे।‘
उनले मन्त्रालयले बनाउनु पर्ने विषयमा ‘गोपी’ बनेकाले मन्त्रालय फिल्मसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए।
निर्देशक दीपेन्द्र लामाले उनीसामु फिल्मले श्रमको सम्मानमा जोड दिएको बताएका थिए।
‘कृषिमा भविष्य छैन भनेर लाखौं युवा विदेशमा गएर त्यही काम गरिरहनु भएको छ। त्यतिको मेहनत यही गर्ने हो भने यहाँ पनि कम आम्दानी छैन है भन्ने सन्देश फिल्मले दिन खोजेको छ,’लामाले भने, ‘ फिल्म हेर्दा पशुपालन गरिरहेका लाखौं मानिसले आफ्नै कथा हेरेको महसुस गर्नुहुन्छ।’
कृषि मन्त्रीको निमन्त्रणमा फिल्मको गोपीको तर्फबाट कलाकारहरू बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल सहभागी थिए।
प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको फिल्म माघ १८ बाट देशभर प्रदर्शन हुँदैछ ।