PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मन्त्रिपरिषदको निर्णयबिनै माघीमा सार्वजनिक बिदा दिने घोषणा गरे मुख्यमन्त्री शाहीले



पी बी खड्का

मन्त्रिपरिषदको निर्णयबिनै माघीमा सार्वजनिक बिदा दिने घोषणा गरे मुख्यमन्त्री शाहीले

सुर्खेत: कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने तयारी गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतमा सुरु भएको माघे संक्रान्ति मेला – २०७५ को उद्घाटन गर्दै माघ १ गते सार्वजनिक बिदा गर्ने निर्णय भइसकेको घोषणा गरे।

तर, आधिकारीक रुपमा भने मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी नै छ। मुख्यमन्त्री शाहीले बुधवारै माघी मेलामा बिदाको घोषणा गरेपछि उनी बिहीवार निर्णय गर्ने सुरसारमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ।
 
‘प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा गर्ने निर्णय गरिसकेको छ।’ उनले भने, ‘अब केही दिनमै हामी सार्वजनिक गर्छाै।’

त्यस्तै सरकारले अव आगामि दिनमा विभिन्न जातजाति भाषा धर्मको सम्मान गर्दै कसको कुन पर्वमा कति बिदा दिने भन्नेबारे पनि छलफल गर्ने बताए। सरकारले सबैलाई समेटेर लैजाने भन्दै कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए। 

‘विभिन्न जातजाति, भाषा धर्म बसोवास गर्ने नागरिक छौँ।’ उनले भने,‘आवश्यकताअनुसार ती जातजाति, भाषा धर्म मान्नेहरुको मुख्य पर्वहरुमा विदा गर्ने विषयमा प्रदेश सरकारले छलफल गर्छ।’

साथै मुख्यमन्त्री शाहीले बिदाको समय नाँच गान गरेर विताउन भन्दा श्रमको रुपमा उपयोग गर्न समेत आग्रह गरे। विकास र समृद्धिका लागि श्रम अपरिहार्य रहेको भन्दै सवैले श्रम गर्नुपर्नेमा जोड दिए। ‘हामीले विदाको दिन खाली नाँच गान गरेर भन्दा पनि श्रमको रुपमा उपयोग गर्न जरुरी हुन्छ।’ उनले भने,‘विकास र समृद्धिका लागि श्रम अनिवार्य हो।’

मगर भाषा काम चलाउ भाषा बनाउन माग 

त्यस्तै मगर जाति, इतिहास र अवस्थाका सोधखोज कर्ता एवम् पूर्व श्रममन्त्री माथवरसिं थापामगरले अब सरकारले मगर भाषालाई कामचलाउको भाषाका रुपमा प्रयोग गर्नुपर्ने बताए। ‘मगरको बाहुल्यता धेरै भइसकेको छ।’ उनले भने,‘अब सरकारले मगर भाषालाई काम चलाउको मान्यता दिनु आवश्यक छ।’

धर्मलाई अफिमसँग तुलना गर्ने कम्न्युनिष्टहरु ढोङीको व्यवहार वर्तमान प्रधानमन्त्रीले देखाएको बताए। जनजातिहरुको मौलिक चाडपर्वको बिदा कटौती गरेर सरकारले सामाजिक विभेद गरेको भन्दै थापाले जनजातिहरुलाई आरक्षणको नाममा झन विभेद गरेको समेत बताए। ‘धर्मलाई अफिमसँग तुलना गर्ने कम्युनिष्ट ढोङीको जस्तो व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो।’ उनले भने,‘जनतातिहरुको मौलिक चाडपर्वको विदासमेत कटौती गरेर सामाजिक विभेद गरेको छ।’

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष एवम् आदिवासी जनजाति महासंघका प्रव्रत्तासमेत रहेका नविन रोकामगरले कुनै पनि समुदायलाई पन्छाएर समृद्धिको विकास नहुने बताए। समृद्धिको विकासका लागि सबै समुदायको समान पहुँच वद्धि विकास हुनु पर्नेमा जोड दिदै रोकाले समान पहूँचका लागि सरकारले प्रसस्त अवसरको श्रृजना गर्नुपर्नेमा जोड दिए। 

सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो संस्कृति जोगाउने भन्दै मगरहरुले माघे सकराती मेला सुरु गरेका छन्। बुधवारदेखि सुरु गरेको माघे सकराती मेला पाँच दिन सम्म सञ्चालन हुने आयोजक नेपाल मगर संघ जिल्ला समन्वय समितिले जनाएको छ। मगर जातिसंग सम्बन्धित आफ्नो कला, संस्कृति झल्कने भेषभुषा, खानाका परिकार लगाएतको प्रदर्शनी रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell