PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुदूरपश्चिम खप्तड गोल्डकप : दिल्ली युनाइटेडको पोष्टमा च्यासल युथ क्लबको ६ गोल



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : दिल्ली युनाइटेडको पोष्टमा च्यासल युथ क्लबको ६ गोल

धनगढी : ललितपुरको च्यासल युथ क्लब तेस्रो सुदूरपश्चिम खप्तड अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीवार भएको खेलमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरेपछि  च्यासलले भारतको दिल्ली युनाइटेडलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो।

खेलमा पहिलो हाफमा ३ गोल गरेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो। च्यासलले अब क्वाटरफाइनलमा ललितपुरकै थ्री स्टार क्लबसँग खेल्नेछ।

धनगढी रंगशालमा भएको खेलको १४औं मिनेटमै सन्जोग राईले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। उनले एल्भीसको पासमा गोल गरे। ३१औं मिनेटमा हेमन्त थापामगरले करिब २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि च्यासलले अग्रता दोब्बर पार्‍यो।

विदेशी खेलाडी अर्माण्डले ४०औं मिनेटमा सन्जोग राईको पासमा व्यक्तिगत पहिलो गोल गर्दै च्यासललाई ३-० को स्थितीमा पुर्‍याए।

दोस्रो हाफमा पनि च्यासलले उक्त लय कायम राख्दै तीन गोल गर्‍यो। ६१औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा च्यासलले ४-० को अग्रता बनायो। ७३औं मिनेटमा गोल गर्दै अर्मान्डले ह्याट्रिक पुरा गरे।

इन्ज्युरी टाइमको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६-० को फराकिलो जित दिलाए।

ह्याट्रिककर्ता अर्मान्ड खेलको ’म्यान अफ द म्याच’ बने। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भएपनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि जित सम्भव भएको बताए। पराजित खिल्लीका प्रशिक्षक बिएस मेहेराले पहिलो रोजाईका ६ खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरुप खेल्न नसकेको प्रतिक्रिया दिए।

यसअघि नै पहिलो चरणमा जित हात पार्दै मेत्री नेत्रालय र नेपाल पुलिस क्लबले अन्तिम आठमा स्थान बनाइसकेका छन्। एपीएफ, मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लब भने बाई पाएर सिधै क्वाटरफाइनल पुगेका हुन्।

अब पहिलो चरणको अन्तिम खेलमा शुक्रवार गोर्खा ब्वाइज र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले क्यामरुनी क्लब डाफिनास टि फेमिलीसँग क्वाटरफाइनल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell