PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

यसकारण निर्माता बने कलाकार राजाराम पौडेल



पहिलोपोस्ट

यसकारण निर्माता बने कलाकार राजाराम पौडेल

काठमाडौं: फिल्म 'सय कडा दश' प्रदर्शनको तयारीमा छ। फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्।  पछिल्लो समय 'प्रेमगीत २' निर्देशन गरेका पाठकले फिल्ममा प्रेम भर्सेस भष्टाचारको कथा समावेश गरेका छन्। उनले फिल्मको विषयलाई अभियानसँग पनि जोडेका छन्।

यसै फिल्ममार्फत कलाकार राजाराम पौडेलले निर्मातामा डेब्यू गरेका छन्। यसअघि उनी फिल्ममा अभिनय मात्र गर्थे। उनले फिल्ममा अभिनय थालेको ३८ वर्ष भइसक्यो। अहिलेसम्म पौडेलले २ सय भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

 फिल्मले उठाएको विषय मन परेका कारण निर्माताको रुपमा अघि आएको पौडेलले बताए। उनले भने 'किन निर्माता बनें भने, यो फिल्मले देशलाई नभइ नहुने विषय उठाएको छ।'

अहिलेसम्म फिल्मको लागि १ करोड माथिको खर्च भइसकेको उनले दावी गरे। फिल्मबारे बोल्दै उनले भने 'मैले जिन्दगीमा कुनै फिल्म पैसा कमाउन, कुनै फुर्सदमा समय कटाउन त कुनै उचाइमा आउन खेलें। तर, यो सय कडा दश मेरो मनमा बस्न सफल भयो। यो फिल्मले देशमा लाजमर्दो अवस्थामा रहेको भ्रष्टाचारको कथा बोल्छ।'

उनलाई फिल्मको व्यापारले खासै अर्थ नराख्ने बताए। 'मैले घर बेचेर फिल्ममा लगानी गरेको होइन। आफ्नो पारिश्रमिकबाट नै मिलाएर राखेको हो। यो फिल्म चल्नैपर्छ भन्ने त होइन तर, फिल्मले समाजमा प्रभाव पारोस्' उनले भने।

 फिल्ममा अमृत ढुङ्गानाको मुख्य अभिनय छ। हालै उनी अभिनित फिल्म 'जय श्री दाम' रिलिज भयो। फिल्म खासै चलेन। उनले यो फिल्मबाट भने आशा राखेका छन्। उनले भने 'जय श्री दाम  हेर्न दर्शक हलसम्म जानु भएन तर, यो फिल्म मात्र होइन अभियान हो। फिल्मलाई दर्शकले रुचाउनु हुन्छ भन्ने आशा राखेको छु।'

फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउने छ। दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell