PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला दुई मुख्य स्पर्धाको उपाधि नजिक



पहिलोपोस्ट

जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला दुई मुख्य स्पर्धाको उपाधि नजिक

काठमाडौँ : प्रिन्स दाहाल र रशिला महर्जन राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा दोहोरो उपाधि नजिक पुगेका छन्। यी दुई खेलाडी यू-१९ र यू-१५ एकलमा फाइनल पुगेका हुन्। यस्तै रशिला यू-१९ गर्ल्स युगलतर्फ पनि फाइनल पुगेका हुन्।

प्रिन्सले यू-१९ एकलमा दोस्रो वरीयताका रुकेश महर्जनलाई २१-१३, २१-१७ ले पराजित गरे। यस्तै यू-१५ मा हिमाल चन्दलाई २१-६, २१-२ ले सहजै हराए। प्रिन्सले अब उपाधिका लागि यू-१९ तर्फ शीर्ष वरीयताका प्रफुल महर्जनसँग खेल्नेछन्। प्रफुलले अर्को सेमिफाइनलमा पविन लिनथेपलाई २१-११, २१-११ को सोझो सेटमा पराजित गरे।

यू-१५ का शीर्ष वरियताका प्रिन्स दोहा ईन्टरनेशनल जुनियर ब्याडमिन्टनका उपाधी विजेता समेत हुन्।

यू-१५ मा प्रिन्सले उपाधिका लागि म्यानमारका ज लिन थु सँग प्रतिस्पर्धा गर्नेछन्। म्यानमारका ज लिन थु नेपालका रोशन साउदलाई २१-४, २१-१५ ले हराए।

यस्तै रशिला यू-१९ एकल र यू-१५ एकलसँगै यू-१९ युगल गरि तीन विधामा उपाधी नजिक पुगेकी छिन्। रशिलाले यू-१९ मा रञ्जना भट्टलाई २१-९, २१-१२ ले हराउदै यू-१९ की शीर्ष वरीयताकी जेशिका गुरुङसँग फाइनल भिडन्त पक्का गरिन्। जेसिकाले जेशिकाले सिमा राजबंशीलाई २१-१२, २१-६ ले पराजित गरेकी हुन्।

यू-१५ तर्फ रशिलाले रोज पाण्डेमाथि २१-७, २१-५ को सहज जित हात पारिन्। मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यू-१५ गर्ल्समा बिश्ना बिष्ट घुँडामा चोटका कारण खेल खेल्न नसकी रिटायर्ड भएका कारण स्मृती राई फाइनल प्रवेश गरिन्। अब स्मृतीले रशिलासंग उपाधीका लागि खेल्नेछिन्।

यू-१९ एकलमा फाइनल पुगेका रशिला र जेशिकाको जोडी युगलमा पनि फाइनल पुगेका छन्। यो जोडीले सेमिफाइनलमा बिश्ना बिष्ट र स्मृती राईको जोडी बाट वाकओभर प्राप्त गरेका हुन्।

रशिला र जेसिकाको जोडीले अब उपाधिका लागि सिमा राजबंशी र निता लम्सालको जोडीसँग खेल्नेछन्। सिमा र निताको जोडीले रञ्जना भट्ट र रोज पाण्डेको जोडीलाई २१-१३, २१-१३ को समान अन्तरले हराए।

यू-१९ ब्वाईज युगलतर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडी फाइनल प्रवेश गरे। दुई महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीलाई २१-१०, २१-११ ले पराजित गर्दै फाइनलमा म्यानमारका खेलाडीहरुसँगभेट पक्का गरे।  म्यानमारका खेलाडीहरु ज लिन थु र थु रिनको जोडीले नेपालका पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीलाई २१-१८, २१-१४ ले पराजित गर्दै फाइनलमा स्थान बनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell