PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

धमाधम अनुदान फिर्ता गर्दै पर्वतका भूकम्पपीडित, पूर्ण क्षतिको सूचीमा परे पनि किस्ता बुझ्नै झन्झट



पहिलोपोस्ट

धमाधम अनुदान फिर्ता गर्दै पर्वतका भूकम्पपीडित, पूर्ण क्षतिको सूचीमा परे पनि किस्ता बुझ्नै झन्झट
फाइल फोटो

  • लक्ष्मीप्रसाद सापकोटा-

पर्वत पर्वतको फलेबास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ। पूर्ण क्षतिमा भए पनि उनले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने। “घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरेँ”, भुसालले भने, “दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखेँ।”

भुसाल मात्र होइन, कुश्मा नगरपालिका–९ का हरिचन्द्र पौडेलले पनि अनुदानको पहिलो किस्ता फिर्ता गरे। मर्मत गरेर बस्न मिल्ने घर भत्काउनुभन्दा पूर्ण क्षतिमा परेका परिवारले अनुदान नै फिर्ता गर्ने क्रम बढेको छ। पर्वतमा पूर्ण क्षतिमा परेको सङ्ख्या पाँच हजार २६९ छ। उनीहरुमध्ये पूर्ण क्षतिमा परेका सात जनाले घर नबनाई अनुदान फिर्ता गरेका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्क अनुसार हालसम्म जम्मा ७० ले मात्रै घर सम्पन्न गरेर अनुदान बुझेका छन्। घर निर्माणको अनुदान पाउने लाभग्राहीमध्ये पहिलो किस्ता रकम सम्झौता गर्नेको सङ्ख्या चार हजार ८४६ छ। जसमध्ये एक हजार ६०६ ले मात्रै दोस्रो किस्ताको रकम लिएका छन्। अधिकांश घर केही चर्के पनि बस्न मिल्ने भएकाले घर बनाउनेतर्फ बढी चासो दिएका छैनन्। अर्कोतर्फ घर निर्माणमा दक्ष जनशक्तिको अभाव, गाउँमा प्राविधिक नपुग्नु र किस्ता लिन झन्झट भएका कारण पुनःनिर्माण अपेक्षित गतिमा नभएको पाइएको छ।

“घर बनाउनेभन्दा पहिलो किस्ता बुझेर त्यसै बस्ने धेरै भए”, जिल्ला अनुदान व्यवस्थापन एकाइका प्रमुख जगदीश शर्माले भने, “अनुदान फिर्ता गर्न सञ्चारमाध्यम र सबै निकायलाई प्रयोग गरेर ताकेता गरेका छौँ।”

सानोतिनो राहतमा खाद्यान्न, आश्वासन र प्राविधिकको सल्लाह सुन्दासुन्दै हैरान परेका बिहादी–३ रानीपानीकी गङ्गा पराजुली आफैँले घर निर्माण सकिन। तर, प्राविधिक स्टिमेट नमिलेको भन्दै पाउनुपर्ने अनुदान रकम अझै पाएकी छैनन्। फलेवास–३ का टीकाराम तिवारीले पनि भत्किएको घर बनाएर सकेको दुई वर्ष पुग्यो। तर, अहिलेसम्म सबै किस्ता रकम पाउनै सकेका छैनन्।

“मैले घर सक्दा रु १० लाखभन्दा बढी खर्च भयो”, फलेवासका टीकारामले भने, “प्राविधिकले यो पुगेन र त्यो पुगेन भन्दै पुरै घर भत्काउने भन्छ। अब घर भत्काउनुभन्दा राहतै नलिन बेस भएन र”

२०७४ कात्तिकमा सुरु गरेको रानीपानीकी विष्णु श्रेष्ठको घरको जग, पिल्लर र बिम बाँधेर छोडेपछि अहिलेसम्म काम अघि बढ्न सकेको छैन।

मर्मत गरी बस्न सक्ने ४१७ परिवारले प्रवलीकरण लाभग्राहीका रुपमा रकम बुझिसकेको शर्माले बताए। कार्यालयले ११३ सँग प्रवलीकरण अनुदान सम्झौता गरिएकामा भने सबैले प्रवलीकरण किस्ता लिएका छन्।

पर्वतका पीडितमध्ये लाभग्राहीको सूचीमा नपरेका दुई हजार ८७४ ले गुनासो फाराम भरेका छन्। गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका रहेका छन्। बिहादीका ७६५ परिवारले गुनासो फाराम भरेका एकाइ कार्यालयले जनाएको छ। फलेवास नगरपालिकाका ६६७ ले गुनासो फाराम भरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell