PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सुदूरपश्चिम खप्तड गोल्डकप : संकटाको जितपछि क्वाटरफाइनल समिकरण पुरा



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : संकटाको जितपछि क्वाटरफाइनल समिकरण पुरा

धनगढी : काठमाडौँको संकटा क्लब तेस्रो सुदूरपश्चिम खप्तड अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ।

भर्खरै सम्पन्न ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको संकटाले शुक्रवार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

संकटालाई जित दिलाउन कप्तान रवी सिलवाल र विदेशी खेलाडी एलेन म्याक्सवेलले एक-एक गोल गरे। संकटाले अब सेमिफाइनल प्रवेशका लागि क्यामरुनी क्लबसँग खेल्नेछ।

धनगढी रंगशालामा भएको खेलमा जय गुरुङको पास सदुपयोग गर्दै रवि सिलवालले पेनाल्टी पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।

६६औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा म्याक्सवेलले प्रहार गरेको बल गोर्खा ब्वाइजका कुलदीप कार्कीले गोललाइनबाट बचाउँदा संकटा अग्रता दोब्बर पार्नबाट चुक्यो। तर ८३औं मिनेटमा अर्का विदेशी खेलाडी फोफाना इब्राहिमको क्रसमा म्याक्सवेलले गोल गर्दै संकटाको जित निश्चित गरे।

विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताए। गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए।

नेपाली नकआउट फुटबलकै सर्वाधिक पुरस्कार राशी रहेको गोल्डकपको क्वाटरफाइनल खेलहरु शनिवार देखि सुरु हुनेछ। पहिलो क्वाटरफाइनलमा विभागीय टोली एपीएफले काक्करभिट्टासँग खेल्नेछ।

यस्तै दोस्रो क्वाटरफाइनल नेपाल पुलिस र मनाङ मर्स्याङ्दी तथा तेस्रो क्वाटरफाइनल च्यासल र थ्री स्टारबीच हुनेछ। अन्तिम क्वाटरफाइनलमा संकटाले क्यामरुनको डाफिनस क्लबसँग पुष ३१ गते खेल्नेछ।

प्रतियोगिताको विजेताले २१ लाख पाउनेछन् भने उपविजेताले १० लाख हात पार्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell