हेटौंडा : प्रदेश नंं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु एक अर्ब १३ करोडको लागतमा दश जिल्लामा ४६ प्रहरी भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ।
प्रहरीका लागि भवन नहुँदा समस्या भएकाले नयाँ भवन निर्माण गर्न लागिएको सो मन्त्रालयले जनाएको छ। प्रदेश नं ३ प्रहरी कार्यालयअन्तर्गत सिन्धुलीमा ६, धार्दिङमा ३, चितवनमा ५, मकवानपुरमा ७, नुवाकोटमा ३, दोलखामा ४, रामेछापमा ५, काभ्रेपलाञ्चोकमा ६, रसुवामा ४ र सिन्धुपाल्चोकमा ५ प्रहरी चौकी निर्माण गरिने आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेलले बताए।
“प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन भवन निर्माण गर्न लागिएको हो,” उनले भने। सशस्त्र द्वन्द्वका समयमा ७३८ प्रहरी भवन क्षतिग्रस्त भएका थिए। प्रदेश नं ३ मा भूकम्पबाट समेत १९६ प्रहरी भवन क्षतिग्रस्त भएका थिए।