सुनसरी : मनमोहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार भएको समूह डी को खेलमा प्रदेश नम्बर ४ ले विभागीय टोली एपीएफलाई १ विकेटले पराजित गरेको छ।
अन्तिम बलमा मेख सेनले चौका प्रहार गरेपछि एपीएफले दिएको २१६ रनको लक्ष्य प्रदेश ४ ले ९ विकेट गुमाएर पुरा गरेको हो।
त्यसअघि विधान श्रेष्ठ र अनिल गुरुङले अर्धशतक प्रहार गर्दै प्रदेश ४ को लागि जितको आधार खडा गरेका थिए। अनिल गुरुङले ६४ रन र विधान श्रेष्ठले ६१ रन बनाए। मन्जिल न्यौपानजेले ३१ रन योगदान गरे।
एपीएफका लागि अनिल शाहले ४ विकेट लिएपनि जितका लागि पर्याप्त भएन।
पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१५ रन बनाएको थियो। एपीएफका लागि कप्तान भुवन कार्कीले सर्वाधक ३६ रनज बनाए भने अमर सिंह राउटेलाले २८ रन जोडे। इर्शाद अहेमदले नटआउट ३० रन बनाए।
प्रदेश ४ का किशोर महतो, सन्तोष न्यौपाने र र अमृत गुरुङले २-२ विकेट लिए।
समूह डी को पहिलो खेलमा एपीएफले प्रदेश १ लाई पराजित गरेको थियो। एपीएफले प्रदेश ४ सँग हार बेहोरेपनि यस समूहबाट सेमिफाइनल पुग्ने टिमको टुङ्गो आइतबारको खेलपछि हुने। यदी प्रदेश ४ ले प्रदेश १ लाई पराजित गरेमा सेमिफाइनल पुग्नेछ र यस्तोमा एपीएफ बाहिरिनेछ। प्रदेश १ विजयी भएमा भने तीन टिमको अंक बराबर हुनेछ र रनरेट निर्णायक हुनेछ।