
शीर्ष स्थानको लिभरपुलले ब्राइटनलाई पराजित प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ७ अंकको अग्रता बनाएको छ।
शनिवार भएको खेलमा मोहमद सलाहको एक मात्र गोल मद्दतमा लिभरपुलले ब्राइटनलाई १-० ले पराजित गरेको हो। सलाहले ५०औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।
जितपछि लिभरपुलको २२ खेलबाट ५७ अंक छ भने एक खेल कम खेलेको सिटीको ५० अंक छ।
नयाँ वर्षको सुरुवातमै म्यानचेष्टर सिटीसँग पराजित भएपछि लिभरपुलको यस सिजन लिगमा २० खेलको अपराजित यात्रा टुङ्गिएको थियो भने अग्रता फारकिलो बनाउन बाट बन्चित भएको थियो।
यस्तै लण्डन क्लब चेल्सीले न्यूकासल युनाइटेडलाई २-१ ले पराजित गर्दै सिटी र तेस्रो स्थानको टोटनहमसँग अंकदुरी कम गरेको छ।
घरेलु मैदान चेल्सीलाई जिताउन पेड्रो र विलियनले एक-एक गोल गरे। न्यूकासलका लागि सिएरा क्लार्कले एक गोल फर्काए।
जितपछि २२ खेलबाट ४७ अंक जोडेको चेल्सी चौथो स्थानमा छ र तेस्रो स्थानको टोटनहमभन्दा १ अंकले मात्र पछि छ। एक खेलम खेलेको टोटनहमको ४८ अंक छ।
उता अर्को लण्डन क्लबल आर्सनल भने वेष्टहमसँग १-० ले पराजित भएको छ। वेष्टहमलाई जित दिलाउन १९ वर्षीय डेक्लान राइसले ४८औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
उक्त हारपछि आर्सनलले छैटौँ स्थानको म्यानचेष्टर युनाइटेडसँग अंकदूरी बढाउने मौका गुमाएको छ। यस हारपछि २२ खेलबाट ४१ अंकसहित आर्सनल पाँचौ स्थानमा यथावत छ।
एक खेल कम खेलेको युनाइटेडको ३८ अंक छ। युनाइटेडले आज टोटनहमसँग खेल्दैछ। उक्त खेलमा विजयी भए आर्सनलसँग अंक बराबरी गर्नेछ। यदी विजयी भएमा भने एक दिनको लागि भएपनि म्यानचेष्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ।
यस्तै क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दै ३२ अंक जोडेको वाटफोर्ड सातौँ स्थानमा उक्लेको छ। लेस्टर सिटी भने साउथह्याम्पटनसँग २-१ ले पराजित भयो।