सुनसरी : एपीएफसँग पहिलो खेल हारेको प्रदेश नम्बर १ समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर ४ लाई पराजित गरेपछि बाँकी दुई टिमलाई रन रेटमा पछि पार्दै मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह डी अन्तर्गत आइतवार भएको समूहको अन्तिम खेलमा मिनास थापाको शतक मद्दतमा प्रदेश १ ले प्रदेश ४ लाई २२६ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको प्रदेश १ ले मिनासकव शतक मद्दतमा २९२ रन बनाएको थियो। बलिङमा पनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि प्रदेश ४ मात्र ६६ रनमा अलआउट भयो।
पहिलो खेलमा एपीएफले प्रदेश १ लाई ९२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा प्रदेश ४ ले एपीएफमाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो।
आजको खेलपछि तीनवटै टोलीको समान २ अंक भएपनि रनरेटमा अगाडी रहँदै प्रदेश १ अन्तिम चारमा प्रवेश गरेको हो।
यसअघि नै दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्रमश: समूह ए र समूह बी को विजेता बन्दै सेमिफाइनल पुगिसकेका छन्।
मिनासको शतक
सुनसरीको इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९२ रन बनाएको थियो।
पहिलो विकेटका लागि मिनास र निरज मुखियाले शतकिय १५६ रनको शतकिय साझेदारी गरेका थिए। मिनासले ११० बल खेल्दै १६ चौका र २ छक्काको मद्दतमा १०८ रन बनाए।
प्रतियोगितामा यो चौथो शतक हो। यसअघि पुलिसका प्रेम तामाङ, आर्मीका विनोद भण्डारी र बिशाल सुस्लिङले शतक प्रहार गरिसकेका छन्।
यस्तै प्रशेद १ का लागि निरजले ४१ र मुकुन्द यादवले २६ रन जोडे।
६६ रनमा अलआउट
बलिङमा प्रदेश ४ का किशोर महतोले सर्वाधिक ३ विकेट लिए। यस्तै अमृत गुरुङ, बिपिन खत्री र सन्तोष न्यौपानेले २-२ विकेट लिए।
समूह विजेता बन्न प्रदेश १ ले प्रदेश ४ लाई १११ भन्दा कम स्कोरमा रोक्नुपर्थ्यो। प्रदेश १ का बलरहरुले पनि सोही अनुसार नै बलिङ गरे। एपीएफलाई अन्तिम बलमा चौका प्रहार गर्दै शनसनपूर्ण तरिकाले पराजित गरेको प्रदेश ४ प्रदेश १ विरुद्ध भने १५.५ ओभरमै ६६ रनमा अलआउट भयो।
प्रदेश ४ का लागि ओपनर सुमन घिमिरेले सर्वाधिक २५ रन बनाउँदा अनिल गुरुङले १३ र मुस्कान थापाले ११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंककमा रन बनाउन सकेनन्।
प्रदेश ४ लाई कम स्कोरमा अलआउट प्रदेश १ का मनोज मण्डल र सिद्धान्त लोहनीले ३-३ विकेट लिए। सिद्धान्तले २ ओभर बलिङ गर्दा ५ रन मात्र खर्चिए भने ६ ओभर बलिङ गरेका मनोजले १ मेडन राख्दै २४ रन खर्चिए। यस्तै पुष्प थापा र दिपेश कँडेलले समान २ विकेट लिए।
