मार्कोस रासफोर्डले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा टोटनहम हट्सपरलाई १-० ले पराजित गरेको छ।
वेम्ली मैदानमा भएको खेलमा युनाइटेडका लागि रासफोर्डले पहिलो हाफ सकिन एक मिनेट अगाडी गोल गरेका थिए।
आफ्नो क्षेत्रबाट पउल पोग्बाले उपलब्ध गराएको लङ पासमा रासफोर्डले शानदार गोल गरेका हुन्।
त्यसअघि खेलको ३१औँ मिनेटमा टोटनहमका ह्यारी केनले गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए।
दोस्रो हाफको खेल भने टोटनहमको फरवार्ड भर्सेस युनाइटेडका गोलकिपर डेविड डे हेअबीच जस्तै बनेको थियो।
डेविडले टोटनहमका केन, डेले अली र सन मिन हेउनको गरी ११ प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए। डे हेले खेलअवधीभर उत्कृष्ट प्रदर्शन गर्दै टोटनहमका खेलाडीको प्रहारलाई बचाउँदै युनाइटेडलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।
जोसे माउरिन्होलाई बर्खास्त गर्दै क्लबकै पूर्व खेलाडी ओले गनर सोल्सायरलाई केयरटेकर म्यानेजर नियुक्त गरेपछि युनाइटेडले प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार ५ खेल जितेको छ। य्नाइटेडको लागि आफ्नो सुरुवाती ६ खेल जित्ने सोल्सायर पहिलो युनाइटेड म्यानेजर बनेका छन्। उनको प्रशिक्षणमा युनाइटेडले इएफएल कपको पनि एक खेल जितेको थियो।
जितपछि २२ खेलबाट ४१ अंक जोडेको युनाइटेडले पाँचौ स्थानको आर्सनलसँग अंक बराबरी गरेको छ। गोलअन्तरमा आर्सनल अझै अगाडी छ। आर्सनल शनिवार वेष्टहमसँग पराजित भएको थियो।
टोटनहमले हारपछि २२ खेलबाट ४८ अंकका साथ तेस्रो स्थानमै छ। टोटनहमले दोस्रो स्थानको म्यानचेष्टर सिटीलाई पछि पार्ने र चौथो स्थानको चेल्सीसँग अंकदूरी बढाउने मौका गुमाएको छ।
२२ खेलबाट ५७ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ।
आइतवारै भएको खेलमा बर्नमाउथलाई २-० ले पारजित गर्दै एभरटन दशौँ स्थानमा उक्लेको छ। एभरटनले २२ खेलबाट ३० अंक जोडेको छ। घरेलु मैदान एभरटनका लागि कुर्ट जोमा र डोमिनिक भालभर्स लेविनले एक-एक गोल गरे।
PHOTO : PREMIER LEAGUE