
रियल मड्रिडले स्पानिस ला लिगामा गएराती रियल बेटिसलाई २-१ ले पराजित गरेको छ। डानी सेबालेसले खेल सकिन दुई मिनेट अगाडी गोल गरेपछि रियलले ३ अंक जोडेको छ।
त्यसअघि रियलका लागि १३औँ मिनेट लुका मोडरिचले गोल गर्दै पहिले अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा सर्जियो कानलेसले बेटिसका लागि बराबरी गोल गरे। तर ८८औँ मिनेटमा सेबालेसले गोल गर्दै रियलको जित पक्का गरेका थिए।
जितपछि १९ खेलबाट सेभिया समान ३३ अंक जोडेको रियल अालभेजलाई पछि पार्दै एक स्थान माथि उक्लिएको हो। सेभिया भने एथ्लेटिक विल्वाओसँग पराजित भएको थियो। गोल अन्तरमा सेभिया रियल भन्दा अगाडि छ।
१९ खेलबाट ४३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ भने एट्लेटिको मड्रिड ३८ अंकसहित दोस्रोमा छ।