
बार्सिलोनाका लियोनल मेसीले स्पानिस ला लिगामा चार सयौँ गोल गरेका छन्। ला लिगा २०१८-१९ अन्तर्गत गएराती भएको खेलमा आइबर विरुद्ध एक गोल गर्दै अर्जेन्टाइन स्टार मेसीले उक्त उपलब्धी हात पारेका हुन्।
युरोपको टप फाइल लिगमध्ये एकै लिगमा ४०० गोल गर्ने मेसी पहिलो खेलाडी बनेका छन्।
मेसीले सन् २००५ मे १ मा अल्बासेटे विरुद्ध बार्सिलोनाका लागि पहिलो ला लिगा गोल गरेका थिए। त्यतिखेर मेसी जम्मा १७ वर्षका मात्र थिए।
त्यसपछि १३ वर्षको अवधीमा मेसीले बार्साका लागि ३९९ गोल गरे।
मेसीले ला लिगामा ३१ ह्याट्रिक गरेका छन् भने ८३ पटक एकै खेलमा दुई गोल गरेका छन्।
मेसीले ४३५ लिग खेल्दै उक्त उपलब्धी हासिल गरेका हुन्। मेसीले पर गेम ०.९२ का दरले गोल गरेका छन्।
मेसीले ला लिगामा चार सयौँ गोलको कोसेढुंगा पूरा गर्दा सबैभन्दा धेरै गोल देब्रे खुट्टाले गरेका छन्। विशेष गरी देब्रे खुट्टा बढी चालनउ मेसीले ३२६ गोल नै त्यही खुट्टाले गरेका छन्। उनले दाहिने खुट्टाले ५९ गोल मात्र गरेका छन्। यस्तै १४ गोल हेड मार्फत र बाकी एक गोल भने शरिरको अन्य भागबाट सम्भव भएको थियो।
ला लिगामा मेसीले सबैभन्दा धेरै गोल सेभिया विरुद्ध गरेका छन्। उनको प्रिय प्रतिद्वन्दी सेभिया विरुद्ध २५ गोल गरेका छन्। मेसीले ला लिगामा ३७ फरक प्रतिद्वन्दी विरुद्ध गोल गरिसकेका छन् र उनी यस्तो उपलब्धी हात पार्ने ला लिगाको इतिहासमा पहिलो खेलाडी समेत हुन्।
ला लिगामा मेसी पछि सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डो हाल इटालियन क्लब युभेन्ट्समा खेलिरहेकाले मेसीको उक्त कीर्तिमानलाई तोड्न असम्भव जस्तै छ। रोनाल्डोले ला लिगामा रिल मड्रिडबाट खेल्दै ३११ गोल गरेका थिए। तर प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड, ला लिगा रियल अनी सिरी ए मा युभेन्ट्सका लागि खेलेका रोनाल्डोले तीन वटै लिगमा गरेर भने ४०९ गोल गरिसकेका छन्।
रोनाल्डोले तीन देशमा ५०७ खेल खेल्दै ४०९ गोल गरेका हुन्।
ला लिगामा सर्वाधिक गोलकर्ता
लियोनल मेसी : ४००
क्रिस्टियानो रोनाल्डो : ३११
टेल्मो जारा : २५१
ह्युगो सान्चेज : २३४
राउल : २२८