
भारतको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफन कन्सटेनटाइनले आफ्नो पदबाट राजिनामा दिएका छन्।
युएईमा भइरहेको एसिया कपअन्तर्गत समूह ए को अन्तिम खेलमा बहराइनसँग १-० ले पराजित हुँदै बाहिरिएपछि उनले राजीनामा दिने घोषणा गरेका हुन्।
पहिलो खेलमा थाइल्याण्डलाई ४-१ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेपछि इन्जुरी टाइममा पेनाल्टी गोल खाएपछि भारत समूह मा अन्तिम हुँदै बाहिरिएको हो। दोस्रो चरण पुग्न भारतलाई बराबरी नतिजा नै पर्याप्त थियो तर अन्तिम समयमा सम्हालिन नसक्दा पेनाल्टीबाट गोल खाएपछि दोस्रो चरण पुग्ने भारतको सपना टुङ्गिएको हो।
दोरो खेलमा भारत घरेलु टोली युएईसँग २-० ले पराजित भएको थियो।
भारतीय फुटबल महासंघले प्रशिक्षक स्टेफनसँग कुनै औपचारिक कुराकानी नभएको तर उनको निर्णयलाई स्वीकार गर्ने जनाएको छ।
यस्तै महासंघले भारतीय फुटबलमा स्टेफनले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएको छ।
नेपालको राष्ट्रिय फुटबल टिमको समेत प्रशिक्षक रहिसकेका स्टेफनको प्रशिक्षणमा भारतले पछिल्लो समय राम्रो नतिजा हात पारिरहेको थियो।
५६ वर्षीय बेलायती प्रशिक्षक स्टेफनले सन् १९९९ देखि २००१ सम्म नेपालको राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिए। त्यसपछि २००५ सम्म भारतको प्रशिक्षक बनेका उनी २०१५ मा दोस्रो कार्यकालको रुपमा भारतको प्रशिक्षक बनेका थिए।
यसबीचमा उनले मालावी, सुडान, रुवान्डा जस्ता अफ्रिकन राष्ट्र र विभिन्न क्लबहरुको प्रशिक्षण सम्हालेका थिए।