PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

ट्रम्प किम वार्ता तयारी: किमका 'राइट ह्यान्ड' किम योङ चोल पुगे वासिङटन



पहिलोपोस्ट

ट्रम्प किम वार्ता तयारी: किमका 'राइट ह्यान्ड' किम योङ चोल पुगे वासिङटन

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको दोस्रो शिखर वार्ताको तयारीका लागि उत्तर कोरियालीका एक उच्च कूटनीतिज्ञ अमेरिका पुगेका छन्।

ट्रम्पका लागि किमले पठाएको चिठीसहित वार्ता प्रक्रियामा पहिलेदेखि नै सहभागी रहेका किम योङ चोल नेतृत्वको टोली बेइजिङ हुँदै वासिङटन पुगेको बीबीसीले जनाएको छ। 

किमको चिठीसहित योङ दोस्रो पटक वासिङटन पुगेका हुन। २०१८ जुन ११ मा सिंगापुरमा किम र ट्रम्पबीच भएको वार्ता पूर्व योङले वासिङटन पुगेर ट्रम्पलाई किमले पठाएको चिठी प्रदान गरेका थिए।

किमका 'राइट ह्यान्ड' मानिने योङ सैन्य गुप्तचर प्रमुख हुँदा दक्षिण कोरियाली समुन्द्रिक युद्ध जहाजमाथि आक्रमणका 'मास्टरमाइन्ड' रहेको आरोप लाग्दै आएको छ।

उनले आज अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट गर्ने कार्यक्रम रहेको छ।

निःशस्त्रीकरण र नाकाबन्दीका विषयमा दुई राष्ट्रबीच चर्किँदै गएको विवादको समाधान निकाल्न र किम ट्रम्प वार्ताको लागि वातावरण मिलाउन योङ अमेरिका पुगेको बताइएको छ।

२०१८ जुन ११ मा सिंगापुरमा दुई नेताबीच सम्पन्न भएको वार्तामा कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने सहमति भएको थियो। यद्यपि वार्तापछि भने दुई देशबीचको सम्बन्ध सामान्य हुन सकेको थिएन।

उत्तर कोरियाले अमेरिकाले आफ्नो राष्ट्रमाथि लगाएको प्रतिबन्ध फुकुवा नगरेको बताउँदै आएको छ। यस्तै अमेरिकाले भने उत्तर कोरियाली निःशस्त्रीकरणको विषयमा प्रतिवद्ध नरहेको बताउँदै आएको छ।

यस्तै, उत्तर कोरियाका विदेश राज्यमन्त्री छोइ सन हुईले स्वीडेनमा पोङयाङका लागि अमेरिकी विशेष दूतसँग भेटवार्ता हुने बताइएको छ। 

ट्रम्प आफैँले २०१९ को सुरुवातमा किमसँग वार्ता हुनसक्ने बताएका थिए। यस्तै नयाँ वर्षको शुभकामना दिँदै किमले पनि ट्रम्‍पसँग भेट्न आफू जहिले पनि तयार रहेको बताएका थिए।

दुई नेताहरुबीच भियतनामको कोस्टल शहर दि हाङमा दोस्रो शिखर वार्ता हुनसक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell