एक वर्षअघि घरबाट पठाएको सामान लिन म गोंगबु पुगेको थिएँ। राति ११ बजेको बसमा सामान आइपुग्छ भनिए पनि गाडी जाममा परेछ। त्यसैले एक बजेसम्म पर्खनुपर्यो।
२ घण्टा समय काट्न म बसपार्क नजिकै पुलमुनिको ठेलाको चिया पसलमा बसेँ।
तीस मिनेटको अन्तरालमा करिब ३ कप चिया पिएँ। चिया मीठो थियो। चियाजस्तै मीठो थियो, चिया पसलकी साहुनीसँगको कुराकानी।
जाडो नभनी चिया बेचेको देख्दा मनमा धेरै प्रश्न उब्जिएको थियो। तर, सुरुमै सोध्ने आँट आएन। हुन त चियाको सौखिन मलाई रेस्टूराँ, होटलको चिया भन्दा फुटपाथमा बेचिने चियाको स्वाद नै मनपर्छ। त्यसैले कहिले काही लगनखेल, एयरपोर्ट अनि गौशालातिर बाटोमै बेचिने चिया पिउन गइरहन्छु।
ती ठाउँहरुमा चिया बेच्नेहरुको बाध्यता, रातभरी चिया बेच्दाको चुनौती, अप्ठ्यारा र उनीहरुका जिन्दगीका कुरा जान्ने कौतुहलता जागेको थियो।
कतिपटक केही बातचित पनि गरेँ। तर, उनीहरुको व्यस्त समयमा अन्तरकुन्तरका कुरा गर्न भ्याइँदैन थियो।
यसपटक भने ती जिज्ञासाको जवाफ खोज्न हुइँकिएँ गोंगबु बसपार्क।
तर, त्यहाँ मैले चिया पिएको पसल नै देखिँन। धत्, पसल नै हिँडेछ - चिया पसल मोबाइल न थियो।
फर्कने क्रममा सुकेधारा चोकमा एउटा ठेला देखेँ, खुल्दै गरेको। यतिखेर रातिको ९:४० बजेको छ।
चिया पाइन्छ ?
पाइन्छ, तर समय लाग्छ।
कति समय?
आधा घण्टा
चिया पिउने बहानामा ठेला पसलको छेउमा उभिएँ।
साहुले ठेलामा पसल खोल्न सुरु गरे। चाउचाउ, अण्डा, अनि चियाका ग्लास मिलाएर राखे। चपिङ बोर्ड सफा गरे। उनी ठेला पसलमा चियासँगै म:म, ससेज पनि बेच्ने रहेछन्।
नाम : अशोक गुरुङ।
ठेगाना : कास्की। हाल काठमाडौं।
चिया बसाल्दै गर्दा उनका सहकर्मी आइपुगे। नाम डेभिड जङ्ग कुँवर। हातमा पसलका लागि आवश्यक सामान थियो।
डेभिड र अशोकले ठेलामा चिया बेच्न सुरु गरेको तीन महिना भयो।
रातको ९ बजेदेखि बिहान ५ बजेसम्म उनीहरु काम गर्छन्। दिउँसो आराम गर्छन्।
चिया पाक्यो, अशोकले चिया दिए। चिया पिउँदै कुरा भयो।
तीन महिनाअघि अशोक र डेभिडको गाडी दुर्घटना भयो। गाडी बनाउन करिब २ लाख खर्च भयो। लोन लिएर मर्मत सम्भार त गराए तर तिर्ने कसरी?
अशोकले भने, 'त्यही खर्च उठाउन हामीले ठेला पसल सुरु गरेका हौं। काम गर्न लजाउनु हुन्न रहेछ। अहिले कारको खर्च लगभग उठिसक्यो।'
रात जसरी गहिरिँदै थियो, बिस्तारै ठेला पसलमा ग्राहक बढ्दै थिए। डेभिड आँटामा किमा भरेर म:म बनाउँदै थिए। अशोक भने ग्राहक सर्भ गर्न व्यस्त।
उनीहरुले महिनाको २ लाखसम्म कमाइ हुने बताए। उनीहरु आफै पकाउँछन्, आफै सर्भ गर्छन्, आफैँ भाडा माझ्छन्। उनीहरु एकचित्त भएर काम गरेको दृश्य रोचक लाग्छ।
उनीहरुले दिनमा ८ हजारसम्म कमाउँछन् यही ठेलाको व्यापारबाट। चिसोमा बढी बिक्री हुने अनुमान छ उनीहरुको।
डेभिड पर्यटक गाइड पनि हुन्। खाली समयमा अशोकलाई सहयोग गरिरहेका हुन्छन् उनले।
'सुरुमा काम गर्न लाज लाग्थ्यो। पछि बानी बन्दै गयो,' डेभिडले सुनाए, 'रातभरी निन्द्रा बिगारी बिगारी काम गर्नुपर्छ। गाह्रो सोचे गाह्रो हुन्छ। मिहेनत गरे केही बिग्रन्न।'
ठेलाको छेउमा पुलिस चौकी भएकाले रातभर सुरुक्षाको अनुभूति गर्छन्।
+++
गौशाला चोक। रातको १० : ३० बजे।
गौशाला चोकबाट मित्रपार्क जानेबाटोतर्फ सडकको पेटीमा छ लक्ष्मी धमलाको चिया पसल। रातमा पैदल यात्री कमै हिँड्ने भएकाले उनले त्यहाँ अड्डा जमाउँछिन्।
नाङ्ले पसलमा चाउचाउ, पराग, गुट्का, चुइगम, चकलेट आदि फिजाएर राखिएको छ। नाङ्लोसँगै एउटा स्टोभ अनि चिया पकाउने भाडा पनि छन्। छेउमा सानो थर्मस अनि ग्लासहरु पनि।
खुला आकाश, पेटी अनि स्टोभ अड्डिने यो सानो ठाउँ, चियाकै लागि चिनिन्छ।
लक्ष्मीको १८ वर्षदेखि यहाँ चिया बेच्दै आएकी छिन्। उनको दैनिकी यही हुने कमाइले चल्छ।
उनले चिया बेचेरै दुई छोरा र छोरीलाई पढाइन्। अहिले छोरोको बिहे भइसक्यो, छोरी १२ मा पढ्दैछिन्।
बिहे भएर ललितपुरको ठैव पुगेकी लक्ष्मीको घरको आर्थिक अवस्था राम्रो थिएन। त्यसमाथि श्रीमान रक्सी धेरै पिउँथे। एघार वर्ष भइसक्यो उनी बितेको पनि। परिवारको जिम्मा लक्ष्मीको काँधमा आइलाग्यो।
उनी पहिला बिहान चिया बेच्थिन्। अहिले नगरपालिकाले लखेट्ने र सामान उठाइदिने डर छ।
राति चिया बेच्न थालेको भने दुई वर्ष भयो। 'राति पनि पसलमा भिडभाड बढ्यो भने पुलिसले राख्न दिँदैन,' उनले सुनाइन्।
तर, केही पुलिसले चिन्ने भएकाले उनलाई राति काम गर्न डर लाग्दैन। चियाको कारोबार बिहान बेसी नै हुन्छ। राति केही कम। 'बिहान ३०, ३५ हजार कमाइन्थ्यो। राति त्यति हुन्न। जाडोमा रातभर बस्न पनि गाह्रो। नबसे झन् गाह्रो,' उनले भनिन्।
अहिले उनी रातको ८ बजेबाट बिहान ६ बजेसम्म चिया बेच्छिन्। एक रातमा लगभग ३ हजार कमाउँछिन्।
४५ वर्षीया लक्ष्मीले गौशालामा चिया बेच्दा अरु चिया पसल थिएन। अहिले अरु दुईवटा थपिएका छन्, उनको पसलसँगै जोडिएर।
लक्ष्मीको छोराले होटल खोलेका छन्। तर, उनलाई होटलमा भन्दा पनि चिया पसलमा बढी लगाव छ। उनी बिहान ६ बजे नाङ्लो पसल उठाएर सिधैं छोराको होटल खोल्न पुग्छिन्। त्यहाँ व्यस्त हुन्छिन्। दिउँसो २ बजेदेखि ६ बजेसम्म उनको सुत्ने समय।
'मैले २५ दिनको छोरी काखी च्यापेर चिया बेचेँ,' उनले सुनाइन्, 'छोरा १७ महिनाको थियो। बाटोको छेउमा कार्टुन बिच्छाएर, उनीहरुलाई सुताउँथे। अनि चिया बेच्थेँ।'
पानी पर्दा भने बिजोग हुन्थ्यो। छोरी काखमा, चुरोटको डालो टाउकोमा, छोरालाई डोर्याउँदै, ओत लाग्ने ठाउँ खोज्न कुद्न परेको क्षण सधैं सम्झिन्छिन्। छोराछोरी हुर्किएपछि भने उनलाई आनन्द भएको छ। भनिन्, 'अहिले त आनन्द छ। बच्चा स्याहार्नु पर्दैन।'
समय फेरियो तर उनी अझै पनि आफ्नो पुरानो स्टोभमै चिया पकाउँछिन्। 'ग्यास छ, तर मलाई स्टोभको माया धेरै लाग्छ। यो बोक्न पनि सजिलो। ३ लिटर मात्र मट्टीतेल खर्च हुन्छ दिनमा।'
पेटीमा सुतिरहेकालाई देखाउँदै उनी भन्छिन्, 'यहि नाङ्लो र स्टोभका कारण हात थाप्न परेको छैन।'
कुराकै बीच लक्ष्मी चिया बेच्न व्यस्त भइन्। सँगै आफ्नो कथा सुनाउन पनि। स्टोभको आवाज चर्कँदा उनको आवाज मधुरो हुन्थ्यो। स्टोभको आवाजलाई उछिन्न उनी ठूलो आवाजमा बोल्थिन्।
एयरपोर्ट। रातको ११: ०० ।
एयरपोर्टको प्रवेशद्वारको अगाडि चिया बेच्ने ठेलाहरुको लाम नै हुन्छ। कतै धेरै ग्राहक, कतै थोरै।
तीनै लाइनको पुच्छारतिर स्टोभमा चिया बेच्दै थिइन्, एक महिला। बस्ने मुडा खाली थियो। म उनैको पसलतिर अघि बढेँ।
मुडो तानेर बसें, भनें- चिया पिलाउनु न दिदी।
यिनी हुन्, नीरा खड्का। दार्जिलिङकी उनी काभ्रेको प्रेमीसँग बिहे गरेर आइन्। काठमाडौं बस्न थालिन्। दिनभर एउटा कार्यालयमा चिया पकाउने नीरा रातिको ७ बजेपछि एयरपोर्टछेउ ठेला अघिल्तिर भेटिन्छन्।
यहाँ चिया बेच्न थालेको तीन महिना मात्र उनले।
सुनाइन्, 'पोहोर एकपटक यसरी बसेको लाज लागेको थियो। त्यसैले गर्दिन भनेको भाउजूले कर गरेर चिया बेच्न लगाउनु भयो। अहिले त लाज लाग्दैन।'
यहाँ भने रातभर चिया बेच्न पाइँदैन। नगरपालिकाका कर्मचारी आउने डर हुन्छ। त्यसैले ७ बजेदेखि ११ बजेसम्ममात्र ठेला राख्छिन्।
'११ बजेदेखि नै सिठी फुक्न आउँछन्,' उनले सुनाइन् 'डान्सबार चाहिँ जतिखेरसम्म खुले पनि हुन्छ। रक्सी पसल खुल्छ। तर, चिसोमा बाटामा दु:ख गर्नेहरुलाई उल्टै दु:ख दिन्छन्।'
उनी दिन बिराउँदै चिया बेच्न आउँछिन्। घरमा ७ वर्षकी छोरी छिन्। एकदिन छोरीका लागि एकदिन कमाइका लागि। चिया बेचेरै छोरीलाई सिनामंगलको बोर्डिङ स्कूलमा पढाएकी छिन्। विदेश जानेहरुको जमघट हुने ठाउँमा उनको पसल। त्यसैले ठेलामा उनी चियासँगै खादा खोज्नेहरु पनि पुग्छन्। त्यो पनि उपलब्ध गराएकी छिन्।
उनको घरदेखि एयरपोर्टसम्म पसल सार्न तीनपटक सामान ओसार्नु पर्छ। उनले ठेला राख्ने ठाउँ चहल पहल हुने व्यापारिक हब जस्तै लाग्छ।
रातको समय ९: ०० बजे। कोटेश्वर।
सधैं भक्तपुर जाँदा कोटेश्वरको एउटा दृश्यले मलाई तान्थ्यो। एकजना महिला सधैं चिया बेच्न वा सामान मिलाउन व्यस्त हुन्थिन्। म पनि चिया पिउन दुई चारपटक पुगेको थिएँ।
यस पटक उनको ठेला पसलमा पुगेर मैले सँधै झैं सुरुमा चिया मगाएँ।
र, बिस्तारै कुरा सुरु गरेँ।
दिदी कतिबजेसम्म बेच्नुहुन्छ चिया?
बिहान ३ बजेसम्म, छोपछाप गरेर बेच्छु।
छोपछाप?
'१० बजेपछि त उठाउन आउँछन्। १० बजेपछि बत्ती बन्द गरेर यही चुलो बालेर चोरजस्तै ग्राहक ढुक्छु,' उनले सुनाइन्।
केही साताअघि उनको ठेला पुलिसले उठाएको थियो। उनलाई भ्यानमा हालेर चौकी लगे। उनी भ्यानबाट उत्रिन मानिनन्। भनिन्, 'न मान्छे मारेको हुँ न चोरेको हुँ। चिया बेच्दा किन हिरासतमा राख्नु? म त त्यसको भोलिपल्टदेखि नै काममा फर्किएँ।'
सिन्धुपाल्चोककी लक्ष्मी श्रेष्ठको बसाइ कोटेश्वर नै हो। १५ वर्षअघि देखि उनी त्यहाँ चिया बेच्दै आएकी छिन्। बीचको दुई वर्ष उनले त्यहाँ पसल राखिनन्।
कारण?
भनिन्, 'पुलिस झगडा गर्न आए। मैले पिट्दिएँ।'
पहिले रातमा ७ देखि १० हजारसम्म कमाउँथिन्। अहिले व्यापार घटेर १५ सय पुगेको बताँछिन्।
धेरैले उनीसँग उधारो खाएका छन्। पैसा नतिरी भागेका पनि छन्। भनिन्, 'पहिलाको पैसा उठायो भने १० लाख जति होला। तर, अहिले उधारो दिन छोडेकी छु।'
रात्री गाडीका यात्रु, दोहोरी र डान्स बारका मान्छे। राती ड्युटी पर्ने डाक्टर, नर्स सबै उनीकहाँ चिया पिउन आउँछन्। त्यसैले उनी हरेका खालका मान्छे भेटेकी छिन्। हरेकखालको घटना भोगेकी छिन्।
कति मान्छे रक्सी खोज्न आउँछन्। छैन भन्दा झगडा गर्छन्। एकपटक सातदोबाटोमा त्यस्तै भयो। उनले लात्तै लात्ताले हानेर खेदिन्।
निकै आँटिली देखिन्छिन् उनी। निर्धक्क बोल्छिन्। सायद त्यही आँटका कारण रातभर व्यापार गर्छिन्।
उनलाई नियमित चिया पिउन आउनेहरु 'ठेलाको मम्मी' सम्बोधन गर्छन्।
लक्ष्मीका दुई छोरी र एक छोरा छन्। ठेलाको कमाइले नै पढाइन्, बढाइन्। तर, ऋण धेरै छ। छोरीलाई केही दिन अघिमात्र जापान पठाएको सुनाइन्।
'३० देखि ३५ लाख ऋण छ। अब, छोराछोरीले कमाउँलान् अनि तिर्लान् नि,' उनको आशा प्रकट भयो।
उनको किताब लेखौं भन्दै दश वर्षअघि पत्रकार पनि पुगेका रहेछन्।
'दुई चारजना पत्रकार आएका थिए- आमा तपाईंको गुनासो, दु:खको कथा लेखौं भन्दै। मैले हुन्छ तर बुबा आमाको नाम राख्न पाइदैन भनेँ। त्यसपछि उनीहरु कहिल्यै आएनन्,' उनले सुनाइन्।
आफ्नो बाबु आमाको नाम आखिर उनले किन लुकाइन् त? 'बुबा देशमा चिनिने नाम हो। उहाँको छोरी बाटोमा चिया बेच्छे भन्दा कस्तो सुनिन्छ?,' उनले सुनाइन्।