PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

पुलिसले जित्यो सर्वाधिक नगद पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि



पहिलोपोस्ट

पुलिसले जित्यो सर्वाधिक नगद पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी : विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ। ए डिभिजन प्रतिद्वन्दी थ्री स्टार क्लबलाई पराजित गर्दै पुलिस सर्वाधिक नगद पुरस्कार राशीको नटआउट पुटबलको उपाधि जितेको हो।

धनगढी रंगशालामा शनिवार भएको फाइनलमा पुलिसले थ्री स्टारलाई १-० ले पराजित गर्‍यो। पुलिसलाई यस सिजनको पहिलो उपाधि दिलाउन अभिषेक रिजालले एक मात्र गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

पुलिससले खप्तड गोल्डकपको उपाधि जित्ने क्रममा लिगको शीर्ष तीन स्थानमा रहेको क्लबलाई पराजित गरेको हो। बाई पाएर सिधै क्वाटरफाइनल खेलेको पुलिसले पहिलो खेलमै लिग च्याम्पियन मनाङलाई पराजित गरेको थियो भने सेमिफाइनलमा लिगको उपविजेता संकटालाई पेनाल्टीसुटआउटमा पराजित गरेको थियो।

च्याम्पियन पुलिसले नगद २१ लाख रुपैयाँ हात पारेको छ। उपविजेता थ्री स्टारले भने १० लाख प्राप्त गर्‍यो।

खेलमा निर्णायक गोल गरेका अभिषेक रिजाल अफ द म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले सन्तोषजनक प्रदर्शन भएपनि उपाधि जित्दा खुसी रहेको बताए। ’मैदानको अवस्थाका कारण हामीले अपेक्षित प्रदर्शन त गरेनौं। समयमा नै गोल निस्केकाले जित दर्ता गर्न सफल भयौं,’ उनले भने, ’ लिगको प्रदर्शन बिर्साउन मोफसलको प्रतियोगिता जित्ने लक्ष्य थियो। अब अन्य प्रतियोगितामा पनि यसै अनुसार अगाडी बढ्नेछौं। मोफसलको प्रदर्शनले अर्को लिगको तयारीको आधार हुनेछ।’

विधागत उत्कृष्टतर्फ पनि पुलिसकै नै वर्चस्व रह्यो। पुलिसका रवि पासवान प्रतियोगिताको सर्वोत्कृष्ट घोषित भए। उनले एक थान मोटरबाइक हात पारे।

यस्तै उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी घोषित भए। थ्री स्टारका विक्रम लामा उत्कृष्ट मिडफिल्डर घोषित भए। उदयीमान खेलाडी सुदूरपश्चिम- ११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए।

प्रतियोगिता अवधिभर ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। व्यक्तिगत विधातर्फ उत्कृष्ट सबैले १५-१५ हजार रुपैयाँ प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell