
काठमाडौँ : नेपाली लेगस्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल)मा तेस्रो पटक विकेटविहिन बनेका छन्। बंगलादेशमा भइरहेको लिगमा सन्दीपले सिलेट सिक्सर्का लागि ६ खेल खेलिसकेका छन्। तर उनले ३ खेलमा मात्र विकेट लिन सके।
अहिलेसम्म ६ खेल खेलिसक्दा सन्दीपले ४ विकेट मात्र लिएका छन्। सिलेट यस सिजन खेलेको ७ मध्ये एक खेलमा भने सन्दीपले खेलेनन्।
सन्दीपले खेलेका मध्ये एक खेलमा मात्र जितको स्वाद चाख्न पाएका छन्। यस्तै सिलेटले खेलेको ७ मध्ये दुई खेल मात्र जितेको छ।
शनिवार रंगपुर राइडर्स विरुद्धको खेलमा सिलेटले उच्च स्कोर बनाएपनि जित्न सकेन र सिजनको पाँचौ हार बेहोरेको हो। सन्दीपले यस खेलमा किफायती बलिङ गरेपनि विकेट लिन भने सकेनन्। सिलेटका बलरमध्ये उत्कृष्ट इकोनोमी रहेका सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने विकेटविहिन बने।
उक्त खेलमा सिलेटले पहिले ब्याटिङ गर्दै सबिर रहेमानको ८५ र निकोलस पुरनको २७ बलमा नटआउट ४७ रनको मद्दतमा १९४ रन बनाएको थियो। तर रिले रुसोले ३५ बलमा ६१ र फरहाद रेजाले ६ बलमा नटबउट १८ रन बनाएपछि राइडर्सले ३ बल अगावै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
सन्दीपले कोमिला भिक्टोरिएन्स २ विकेट लिँदै बीपीएलमा शानदार डेब्यु गरेका थिए। उनले भिक्टोरिएन्स विरुद्ध ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए। त्यसपछि दोस्रो र तेस्रो खेलमा विकेट लिन सकेनन्। दोस्रो खेलमा चितागोङ भाइकिङ्स विरुद्ध कसिलो बलिङ गर्दै २१ रन खर्चेका सन्दीपले तेस्रो खेलमा ढाका डाइनामाइट्स विरुद्ध ३३ रन खर्चेका थिए।
सिक्सर्सको चौथो खेलमा ड्रप भएका सन्दीपले पाँचौ खेलमा कमब्याक गर्दै आफ्नो चौथो खेल खेले। रंगपुर राइडर्स विरुद्धको उक्त खेलमा सन्दीपले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए। त्यसपछि ढाका डाइनामाइट्स र रंगपुर राइडर्स विरुद्ध लगातार खेलेका सन्दीपले १ विकेट मात्र लिन सके। शुक्रवार भएको ढाका विरुद्धको खेलमा ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिएका सन्दीपले शनिवार राइडर्स विरुद्ध विकेट लिन सकेनन्।
सन्दीपले सिलेटको बाँकी लिग खेल गुमाउने
सिलेटले यस सिजन अब लिग राउण्डका ५ खेल खेल्न बाँकी छ। तर नेपालले युएई विरुद्ध ओडिआई र टी२०आई सिरिज खेल्न लागेकाले सन्दीपले अब बीपीएलको खेल छाडेर आउनेछन्। सिलेटको बलको खेल जनवरी २३ मा खुल्ना टाइटन्ससँग छ। यस्तै लिगको अन्तिम खेलमा फेब्रुअरी १ मा छ। युएई विरुद्धको सिरिज जनवरी २५ देखि फेब्रुअरु ३ सम्म हुने र त्यसका लागि नेपाली टिमबाट खेल्ने खेल्न बउने भएकाले सन्दीपले बीपीएलको बाँकी लिग खेल गुमाउनेछन्। यदी सिलेट अबको खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफसम्म पुगेको खण्डमा मात्र सन्दीप बीपीएल खेल्न पुन: बंगलादेश पर्किनेछन्।
बीपीएलअघि सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया गएका थिए। उनले त्यहाँ मेलवर्न स्टार्सका लागि सुरुवात ४ खेल खेले। बीबीएलमा शानदार डेब्यु गरेका सन्दीपले ४ खेलमा ८ लिँदै शनसनी मच्चाएका थिए। बीपीएल भन्दा बीबीएल लामो समय चल्ने भएकाले सिलेट प्लेअफ नपुगेमा सन्दीप अष्ट्रेलिया जाने सम्भावना समेत छ। यदी बीबीएलमा सन्दीपको टिम स्टार्स प्लेअफसम्म पुगेमा सन्दीप अष्ट्रेलिया जानेछन्।
बीपीएलमा सिलेट सिक्सर्स प्लेअफ नपुगेमा सन्दीपले अष्ट्रेलिया गएर स्टार्सको लिग राउण्डका अन्तिम दुई खेल खेल्न भ्याउनेछन्। स्टार्सले फेब्रुअरी ८ मा ब्रिसबन हिट र फेब्रुअरी १० मा सिड्नी सिक्सर्सँग खेल्नेछ।