मोहमद सलाहको दुई गोल मद्दतमा शीर्ष स्थानको लिभरपुलले प्रिमियर लिगमा शनिवार क्रिस्टल प्यालेसलाई पराजित गर्दै दोस्रो स्थानको सिटीमाथि ७ अंकको अग्रता बनाएको छ। यस्तै नयाँ म्यानेजर ओले जनर सोल्सायरको प्रशिक्षण सम्हालेपछि म्यानेचष्टर युनाइटेडले प्रिमियर लिगमा लगातार ६ खेल जितेको छ।
घरेलु मैदान पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा चार गोल गर्दै क्रिस्टल प्यालेसलाई ४-३ ले पराजित गरेको हो। ८९औँ मिनेटमा जेम्स मिलनर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि लिभरपुलले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।
निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलका लागि सलाहले २ तथा रोवर्टो फिर्मिनो र साडियो मानेले १-१ गोल गरे।
प्यालेसका लागि आन्द्रे टाउनसेन्ड, जेम्स टोमकिनस र म्याक्स मेयरले एक-एक गोल गरे।
जितपछि २३ खेलबाट लिभरपुलले ६० अंक जोडेको छ। एक खेल कम खेलेको सिटी २२ खेलबाट ५३ अंकका साथ दोस्रोमा छ।
यस्तै युनाइटेडले घरेलु मैदानमा ब्राइटनलाई पराजित गर्दै ओले गनर सोल्सायरको प्रशिक्षणमा उत्कृष्ट खेल प्रदर्शनलाई निरन्तरता दिएको छ। युनाइटेडको लागि प्रिमियर लिगमा सुरुवाती ६ खेलमा लगातार जित दिलाउने सोल्सायर पहिलो प्रशिक्षक समेत बनेका छन्।
ब्राइटनलाई २-१ ले पराजित गर्दै युनाइटेड पाँचौ स्थानमा उक्लेको छ। युनाइटेडका लागि २७औँ मिनेटमा पउल पोग्वाले पेनाल्टीमा र ४२औँ मिनेटमा मार्कोस रासफोर्डले गोल गरे। ब्राइटनका लागि ७२औँ मिनेटमा ग्रोगले गोल गरे।
२३ खेलबाट ४४ अंक जोडेको युनाइटेडले आर्सनललाई ३ अंकले पछि पारेको छ भने चौथो स्थानको चेल्सीसँग अंकदूरी ३ मा झारेको छ।
आजै चेल्सी र आर्नलबीच खेल हुँदैछ।