PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कर्णालीको राजधानीमा खानेपानी समस्या, 'बस्ती छ पानी छैन, पानी छ बस्ती छैन'



पी बी खड्का

कर्णालीको राजधानीमा खानेपानी समस्या, 'बस्ती छ पानी छैन, पानी छ बस्ती छैन'

सुर्खेत: 'गाउँमा खानेपानी छैन। पानी ल्याउन राति २ बजे नै जानुपर्छ। पानी नै हुदैँन। भएको पनि सानो। लाइनमा बसेर ३/४ घण्टापछि पालो आउँछ। त्यसपछि उकालोमा २ घण्टाको बाटो हिड्नु पर्छ।’ यसरी आफ्नो गाउँको नालीबेली सुनाए कर्णालीको राजधानी रहेको सुर्खेत बराहताल गाउँपालिकाका वडा १० का वडाध्यक्ष हरिलाल सलामीले, ‘सिचाँइ त आकाशको फल आँखा तरी मर भने जस्तै हो हामीलाई।’

सलामी आफै पनि पानी लिन २ घण्टा उकालो चढ्छन्। जुगेधारा बस्तीभन्दा तल पानीको स्रोत भएकाले समस्या भएको उनी सुनाउँछन्। ‘पानीको स्रोत वस्तीभन्दा तल छ,’ उनले भने, ‘त्यसो भएर पनि पानीको अभाव र समस्या झेल्नु परेको छ।’

स्थानीय सरकारले पनि सहयोग गरेपनि पर्याप्त बजेट नहुँदा समस्या भएको उनको भनाई छ। अहिले वस्तीभन्दा तलको पानी ल्याउन पहल भइरहेको बताए। २१२ भर्टिकल उचाइ भएको वस्तीमा अहिले सोलार प्रविधिमार्फत पानी ल्याउने काम भइरहेको उनले बताए। जसका लागि स्थानीय सरकारको तर्फबाट गत आर्थिक वर्षमा ३५ लाख विनियोजन गरिएको र २५/३५ लाखको समूदायले जनश्रम दान, सामुदायिक बन लगाएत विभिन्न निकायबाट सहयोग मागिरहेको बताए। सोलार मुस–३ परियोजनाले सहयोग गर्ने अपेक्षामा उनी छन्।

त्यस्तै, चाकुने गाउँपालिका गुटको सान्नेघारीमासमेत खानेपानीको जोहो छैन। स्थानीयले अहिले खोलामा भएको कुवाको पानी खान बाध्य छन्। त्यो पनि व्यवस्थित छैन। ‘पानी लिन तलको खोलामा जानुपर्छ। के गर्ने गाउँगाउँमा सिंहदरवार आयो भन्छन् हाम्रो दुःख जस्ताका तस्तै छन्।’ उनले भनिन्,‘खोलाको पानी नाउलो बनाएर खान्छौँ। त्यही पनि नजिक भए त हुन्थ्यो १ घण्टा लाग्छ।’

यता, बराताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले पानीको चरम अभाव रहेको बताए। ‘बस्ती छ पानी छैन, पानी छ बस्ती छैन। हाम्रो क्षेत्रमा यस्तो अवस्था छ। जहाँ बस्तीहरु बसेका छन् त्यहा पानी छैन्। जहाँ पानी छ त्यहा बस्ती छैन,’ उनले भने, ‘पानीको स्रोत भएपनि बस्तीलाई पायक नपर्ने ठाउँमा छन्। भएका स्रोत पनि बस्तीमा ल्याउन समस्या छ।’

स्थानीय सरकारले समेत यी बस्तीमा पानी ल्याउन पहल थालेको भन्दै बजेट अभावका कारण समस्या देखिएको बताए। आफुहरुकोसमेत खानेपानी पहिलो प्राथमिकतामा परेको भन्दै विभिन्न बस्तीका लागि बजेट विनियोजन गरेको बताए।

‘हाम्रो पनि खानेपानी पहिलो प्राथमिकतामा छ,’ उनले भने, ‘गर्दा गर्दै पनि कतिपय बस्तीहरुमा अझै अपुग छ। अब त्यस्ता बस्तीहरुमा विशेष योजनासहित हामी अगाडि बढ्छौँ।’

यसरी प्रदेशको राजधानीकै जिल्लाको कहालीलाग्दो यो अवस्थाले संकेत गर्छ समग्र कर्णालीको। कर्णालीका अधिकांश जिल्लामा पानीको समस्या यस्तै छ। खानेपानीका लागि घण्टौँ हिड्नु पर्ने छ भने कतै खाल्डाखुल्डीको पानी खानुपर्ने बाध्यता छ। कर्णालीमा पर्याप्त पानीको स्रोत नभएको पनि होइन। तर, बस्तीभन्दा विकट र अपायक पर्ने स्थानमा भएको हुँदा समस्या आएको हो। दर्जनौँ खोला र नदी बगिरहेका छन् तर, नागरिक भने पिउने पानी समेत पाईरहेका छैनन्। प्रायः यस्तै समस्या झेलेका नागरिकका लागि समेत स्थानीय सरकार र प्रदेश सरकारको कुनै ठोस योजना समेत पाइदैन्।  

 

गैरसरकारी संस्थाको भरमा स्थानीय

स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर सोलार प्रविधिबाट समुदायमा पानीको जोहो गर्ने सुरसार छन् गैरसरकारी संस्था। यी गैरसरकारी संस्थाले समुदायले भोग्दै आएको पानीको समस्या सल्टाउने कसरतमा छन्। रिन्यूएवल वल्र्डको आर्थिक तथा प्राविधिक सहयोगमा सोलार मुस परियोजनाले खानेपानी वस्तीमा ल्याउने भरोसामा छन्। 

चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पानीको अभाव झेलिरहेका नागरिकलाई प्राथमिकतामा राख्दै उक्त सोलार प्रविधिमार्फत पानीको जोहो गर्न थालिएको रिन्यूएवल वल्र्ड नेपालका क्षेत्रीय परियोजना अधिकृत गंगप्रसाद आचार्यले जानकारी दिए।

सोलार मुस –३ परियोजनाले सुर्खेत जिल्लाका गुटुको सान्नेघारी, विद्यापुरको राग सुन्दरपुर, छाप्रेको भक्ताडी र लेखगाउँको लेखगाउँ गरी ४ वटा समुदायमा सोलार प्रविधिको प्रयोग गरी समुदायभन्दा तल रहेको श्रोतबाट पानी तानेर समुदायमा एक घर एक धारा प्रणालीबाट वितरण गर्ने योजना रहेको उनले बताए।

पालिकामा ४ वटा सोलार मुस उपभोक्ता समिति मार्फत काम अघि बढाईने उनले बताए। उक्त सोलार प्रविधिबाट झण्डै ५ सय ६६ घरधुरी अन्तरगत ३ हजार २७६ जना प्रत्यक्ष लाभान्वित हुने भएका छन्। जुगेधारा सोलार मुसबाट १०५, राग सुन्दरपुरमा १ सय ७८, सान्नेघारी ८५, जाब्देन भक्ताडी सोलार मुसबाट १ सय ९८ घरधुरी लाभान्वित हुने भएका हुन्।

उनका अनुसार यसरी वितरण गरिएको पानी घरायसी प्रयोजनका साथै लघु सिचांईका लागिसमेत प्रयोग गर्न सकिने छ। समुदायलाई तरकारी उत्पादन सम्बन्धी विभिन्न कृषिका तालिम तथा तरकारी बजारिकरणका क्षेत्रमा सहयोग गरिने छ।

त्यसैगरी, यस सोलार मुसले बराहताल सुर्खेतको चेपाङमा सोलार माइक्रो ग्रिडको स्थापना गरी करिब १०० घरधुरीलाई घरायसी तथा अन्य आयआर्जनका कामका लागि विद्युत वितरण गर्ने लक्ष्य लिएको छ। समुदायलाई बाढीआउनु पूर्व सुसूचितगर्ने उद्देश्यले साइरन जडितबाढी सुचना प्रणाली जडान गर्ने लक्ष्य पनि लिएको जनाईएको छ।

त्यस्तै, सोलार मुस –२ परियोजना अन्तर्गत ४ वटा आयोजनाहरु सम्पन्न भई १५७ घरधुरी अन्तर्गत १ हजार ३४४ जना लाभान्वित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell