रमिला तामाङका लागि गत असारदेखि घर नजिकै एउटा खोर तयार भयो। श्रीमान मणि तामाङ, ११ वर्षीया छोरी र ४ वर्षे छोरा घरमै बस्थे। रमिलाको बास भने त्यही खोरमा हुन थाल्यो।
काठ र चारैतिर तार जालीले बारेको खोरमा उनको दैनिकी बित्न थाल्यो। कहिलेकाहीँ उनकी छोरीले खोरबाट निकालिदिन्थिन्। खोरबाट निस्कनेबित्तिकै रमिलाको उपद्रो शुरु हुन्थ्यो - कसैको गाईगोरु फुकाइदिने, सुकाएको कपडा फालिदिने, बालबालिकालाई कुटपिट गर्ने।
त्यसपछि बन्यो खोर
दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बासथलाकी रमिलालाई यस्तो समस्या झन्डै डेढ वर्ष पहिलेदेखि शुरु भयो। 'मलाई त त्यतिबेला उडाए उडाएजस्तो लाग्थ्यो,' रमिलाले सुनाइन्। वितण्डा शुरु भएपछि उपचारका लागि मणिले रमिलालाई उपचारका लागि धरानको घोपा क्याम्प पुर्याए।
'एकपटक त खुकुरी लिएर सबैलाई तर्साउन थाले। बढी नै हुन थालेपछि धरानको घोपामा लग्यौँ। त्यहाँ जाँच गराउँदा खासै रोग देखिएन,' मणिले सुनाए।
घोपामा उपचार सम्भव नदेखेपछि आफन्त चिनेजानेकाले डाक्टरभन्दा धामीबाट उपचार हुने सुझाव दिए। त्यसपछि मणिले रमिलालाई गाउँ फर्काए। गाउँमा धामी झाँक्री लगाए। यति गर्दैमा अलिअलि भएको पैसा सकिएपछि एउटै उपाय थियो खोर बनाएर थुन्ने। त्यसै गरे मणिले।
खोर एक्लैले बनाउनु भएको हो?
जवाफमा मणिले भने, 'सबै मिलेर नि। गाउँले सबै मिलेर।'
यसरी आइपुगे अस्पताल
लगनखेलस्थित मानसिक अस्पतलामा श्रीमानसँगै रमिला
खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले आफ्नै गाउँपालिकामा रोगी खोरमा थुनिएको घटना वनकै एक कर्मचारीबाट थाहा पाए। त्यसपछि परिवारमा यसबारे बुझ्दा आर्थिक अवस्था कमजोर भएकोले उपचार हुन नसकेको रहेछ।
'एकजना वनको कर्मचारीले उहाँको फोटो देखाउनुभयो। त्यसपछि तुरुन्तै उपचार गर्नका लागि पहल थालेका हौँ,' गाउँपालिका अध्यक्ष राईले पहिलोपोस्टलाई भने।
त्यसपछि प्रहरी र स्थानीयको रोहबरमा रमिलाको उद्दार गरी पुस ३ मा ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा उपचार गर्न पठाए।
'उहाँको आर्थिक अवस्था कमजोर रहेको देखियो। त्यसैले संयुक्त प्रयासमा अस्पताल पठाएका हौ,' अध्यक्ष राईले भने।
झन्डै एक महिनाको उपचारपछि रमिला निको हुने क्रममा छिन्। उपचार खर्च आफूले सहयोग गरेको गाउँपालिका अध्यक्ष राईले बताए।
राई भन्छन्,'अहिलेसम्म ३३ हजार जति खर्च भयो। मैले पाउने भत्ताबाट व्यवस्थापन गर्छु।'
मणि भन्छन्,'यस्तो अस्पताल थियो भन्ने पहिलै थाहा पाएको भए यतिको दुखै पाउने थिइनँ।'
पुस ६ गते अस्पताल भर्ना भएकी रमिलाको स्याहारमा मणि आफै आइपुगेका छन्। अस्पतालको ३७ नम्बर बेडमा रमिला छिन्।
आउँदो शुक्रबार डिस्चार्ज हुँदैछिन् रमिला। 'म ठीक भइसकें। आउँदैछु। झगडा नगरी बस्नु है,' त्यही बेडबाट गाउँमा छोरीलाई फोन गर्दैथिइन् उनी।