
प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटी र तेस्रो स्थानको टोटनहम हट्सपर विजयी भएको छन्।
सिटीले हडर्शफिल्डलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी ४ मा झारेको छ। जितपछि सिटीले लिभरपुलमाथि दवाव कायम राखेको छ।
सिटीका लागि डानिलो, रहिम स्टर्लिङ र लरेय सानेले एक-एक गोल गरे। जितपछि २३ खेलबाट सिटीको ५६ अंक छ। समान खेलबाट ६० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ।
यस्तै ह्यारी विङ्सले इन्जुरी टाइममा गोल गरेपछि टोटनहमले फुलहमलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो। सबै तीन गोल टोटनहमका खेलाडीले नै गरेका थिए।
१७औँ मिनेटमा टोटनहमका फर्नान्डो लोरेन्टलेले आत्मघाती गोल गरेपछि घरेलु मैदानमा फुलहमले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको टोटनहमका लागि ५१औँ मिनेटमा डेलेल अलीले बराबरी गोल फर्काए।
खेल बराबरीतर्फ अगाडि बढिरहेको बेला इन्जुरी टाइममा विङ्सले गोल गर्दै टोटनहमलाई जित दिलाए।
जितपछि २३ खेलबाट टोटनहमले ५१ अंक जोडेको छ र चौथो स्थानको चेल्सीमाथि ४ अंकको अग्रता बनाएको छ।