PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

जनप्रतिनिधि र नागरिकबीच पहिलोपटक सार्वजनिक प्रश्नोत्तर



पहिलोपोस्ट

परासीः “गाउँपालिका अध्यक्षज्यू, गाउँमा प्रसूतिगृह नहुँदा सुत्केरीलाई सदरमुकाम लैजानुपर्ने बाध्यता छ, गाउँका स्वास्थ्यचौकीमा औषधि पनि छैन, हामीले कहिले सुविधा पाउँछौँ” आफ्नो वडा कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासी विमलादेवी कर्णले प्रश्न गरिन्।

“जनप्रतिनिधि भए पनि सरकारले मासिक भत्ता दिएको छ रे, तर वडा कार्यालयमा आउँदा प्रायः वडाध्यक्षज्यू भेटिनुहुन्न, वडाध्यक्ष भेट हुने समय कति बजे हो” अर्का स्थानीयवासी धुव्रनारायण बानियाँले सोधे।

“भाषणमा युवालाई रोजगारी दिन्छौँ भन्ने धेरै सुनियो, तर रोजगारी भाषणमा मात्र हो अध्यक्षज्यू”

“अनि गाउँपालिकामा कर बुझाउन जाँदा लाइन बस्नुपर्छ, गाउँगाउँमा सिंहदरबार आयो भन्नुहुन्छ, हामीलाई वडा कार्यालयबाटै कर तिर्ने सुविधा पनि छैन, कहिले आउँछ सिंहदरबार” स्थानीय युवा हिरालाल हरिजनको प्रश्न थियो।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका नागरिकले सोमबार आफ्ना जनप्रतिनिधिसँग यसरी नै प्रत्यक्ष प्रश्नोत्तर गरे। जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाले पहिलोपटक सार्वजनिक सुनुवाइ राखेर विकास निर्माण र सेवा प्रवाहको विषयमा नागरिकका गुनासा र सुझाव सुनेको थियो।

रेडियो परासीको सहजीकरण र समन्वयमा यसरी सार्वजनिकरूपमा आफ्ना जनप्रतिनिधिलाई प्रश्न सोध्न पाएका स्थानीयवासीले वडादेखि गाउँपालिकासम्मको विकास निर्माण अनि समस्या पोखे। वडाभित्रका विभिन्न सडकको कालोपत्र हुनुपर्ने, सीमाक्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, सुविधासम्पन्न अस्पताल, वडा कार्यालयबाटै कर तिर्ने सुविधा हुनुपर्ने, झरही नदीमा तटबन्ध तथा बाढी नियन्त्रणको उपाय खोज्नुपर्ने उनीहरूको माग थियो।

त्यसैगरी प्राविधिक शिक्षालय, प्रसूतिगृह स्थापना गर्नुपर्ने, स्वास्थ्य संस्थामा सहजरूपमा औषधि पाउने व्यवस्था गरिनुपर्ने, वडामा जनसङ्ख्या र भूगोलको आधारमा बजेट वितरण गर्नुपर्ने, कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेलगायतका माग पनि स्थानीयवासीले राखेका थिए।

गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले गाउँपालिकावासीलाई सुविधा दिन वडा नं ४ मा रहेको पाल्ही प्राथमिक स्वास्थ केन्द्रको स्तरन्नोति गरी १५ श्ययाको अस्पताल बनाउन गाउँपालिकाले पहल गरेको जानकारी दिए।

तीन महिनाभित्र प्रत्येक वडाबाटै कर सङ्कलनको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै उनले भने, “सबैको सल्लाह, सुझाव र सहयोगबाटै गाउँपालिकालाई समृद्ध र नमूना बनाउन म लागिरहेको छु।”

प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले हालसम्म ३३ प्रतिशत बजेट खर्च भइसकेको र ४० योजना सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी दिए। उनले जनसङ्ख्या र राजश्व संकलनका आधारमा वडालाई बजेट विनियोजन गरिएको उल्लेख गर्दै गाउँपालिका भवन र वडा कार्यालयको भवन बनाउने कामलाई तीव्रता दिएको पनि जानकारी दिए। योजना कार्यान्वयन असारको बेला चाप नहुने गरी अहिलेदेखि नै कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ।

यसवर्ष पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिकाले मात्रै यसरी सार्वजनिक सुनुवाइ गरेको छ। सात स्थानीय तह रहेको यस जिल्लाका अन्य स्थानीय तहमा पनि सार्वजनिक सुनुवाइको तयारी भइरहेको पाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell