हुम्लाः सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ। हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ। हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ। अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ।
अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावतसमेत बन्द भएको छ।
हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ। हिमपातका कारण सिमकोटलगायत उत्तरी नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ। मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको छ।
हिमपातले विद्यार्थीको ‘ट्युसन’ बन्द
हिमपात हुँदा एसइई तयारी गर्न ‘ट्युसन’ पढ्ने विद्यार्थीको समेत बिहानको पढाइ बन्द भएको छ। जिल्लामा भारी हिमपात हुँदा पढाइ बन्द गर्नुपरेको मानसरोवर माविका शिक्षक धनबहदुर ऐडीले बताए। यसअघि हिमपात हुँदा ‘ट्युसन’ सञ्चालन गरिए पनि सोमबार रातिदेखि हिमपातसँगै चलेको हुरीले पढाउन नसकिएको शिक्षक ऐडीले बताए। रासस