ओ बाज कसम खान्या हो धनगढीमा रेलै आका दिन म त धरान जान्या हो........
गीतमा भनेजस्तो रेलै कुरेर बसेकी भए १९ वर्षकी गीतान्जली गौतम कहिले सुर्खेतबाट झापा पुग्थिन् थाहा छैन। तर दुई महिना अघि बस चढेरै उनी फुत्त झापा पुगिन्। सुर्खेतबाट झापा पुग्नु जो कसैका लागि सामान्य यात्रा मात्र होला। तर गीतान्जलीका हकमा यो ठाउँ फेर्नु मात्र थिएन जीवन नै फेर्नु थियो।
सुर्खेतको बड्डीचौरबाट झापा पुगेपछि गीतान्जलीको दैनिकीमा जोडिन आइपुगे काठमाडौंका सचिन भट्टराई, सिन्धुपाल्चोकका जीवन खड्का, बुटवलका विवेक भुषाल, अनि उनीहरु जस्तै युवाहरु।
जीवन खड्का, मनोज भट्टराई, चुडामणि कटुवाल, नितेस घिमिरे, कास्मिता रसाइली, विपिन ज्ञवाली, रामगोपाल ओली सबैको दैनिकी गीतान्जलीसँग जोडिन आइपुग्यो।
अचेल उनीहरु सबैको दिन किसानहरुलाई आधुनिक कृषि प्रविधि सिकाउँदै बित्छ। उनीहरु किसानलाई कसरी खेती गर्दा बढी उत्पादन हुन्छ भन्ने उपाय सिकाउँछन्। गाइबस्तुलाई स्याहार्ने तरिका सिकाउँछन्।
अर्गानिक खेती गर्दा धेरै उत्पादन हुँदैन भन्ने मनमा पसिसकेका किसानहरुलाई विषादीयुक्त खाना र खेतबारीमा विषादीको प्रयोगले स्वास्थ्यमा पर्ने गम्भीर असरबारे सचेत बनाउँछन्। यी सबैलाई फरक फरक पारिवारिक पृष्ठभूमि र परिवेशबाट एकै ठाउँमा ल्याइ पुर्याएको छ यिनकै पढाइको विषय र काम गर्ने हुटहुटीले।
खासमा यी सबैले कृषि पढेका छन्। कोही आइएस्सी पास त कोही बिएस्सी पास। कृषिको डिग्रीलाई बिदेश जाने हतियारका रुपमा मात्र हेर्ने सोच बदल्दै यी युवाहरु भने झापाको खेतबारीमा काम गरिरहेका छन्।
गीतान्जली सुर्खेतको बड्डीचौरको जनज्योति स्कुलमा पढिन्। त्यहीँबाटै उनले एसएलसी सकिन्। एसएलसी गरेर तीनवर्ष त्यही पढेपछि उनको सिटिइभिटीको डिप्लोमा इन एग्रिकल्चर कोर्स सकियो। अब उनले बिएस्सी इन एग्रिकल्चर पढ्नुपर्ने हो।
तर परीक्षा सकेपछिको समय उनले पढेका कुरालाई प्राक्टिकल गर्ने समयका रुपमा बिताउन चाहिन्। यसैले उनलाई सुर्खेतबाट झापा पुर्याएको हो। उनीसँगै सुर्खेतका अरु तीनजना र अरु बिभिन्न ठाउँका कृषि पढेका युवाहरु यसैगरी थ्योरीलाई प्राक्टिकलमा बदल्न यहाँ काम गरिरहेका छन्।
झापाको कामाटोलीमा यी सबै युवाहरु एकै ठाउँमा बस्छन्। एउटै भान्सामा पकाएर खान्छन्। अनि दिनभर बिभिन्न गाउँका खेत खेतमा पुगेर काम गरेपछि बेलुकी फर्किएर आफ्ना समस्या र उपलब्धीहरु साथीभाईसँग शेयर गर्छन्। उनीहरुलाई कृषि प्राविधिकका रुपमा यसरी गाउँ गाउँमा परिचालन गरिरहेको छ जयन्त गोल्यान फाउन्डेसन र सेल्टर नेपालले।
जयन्त गोल्यान फाउन्डेसनले सेल्टर नेपालसँग मिलेर झापाको रंगपुर, फुलगाँछी, गैरीगाँउ, महारानीझोडा, शिवशताक्षी र बुद्ध शान्तिनगरमा नमुना गाउँ बनाउन काम सुरु गरिसकेको छ। यहाँका किसानलाई विषादीरहित र अर्गानिक खेतीतर्फ प्रेरित गर्न यी नै कृषिका विद्यार्थीहरु परिचालन गरिएका हुन्।
यी दुई संस्थाले झापाको रंगपुरबाट सुरु गरेको नमुना गाउँ अभियान अहिले झापाको ६ वटा गाउँमा संचालन भैरहेको छ जसले यी गाउँहरुमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानीको सुनिश्चितताका साथै विभिन्न आयआर्जनका काममा सघाइरहेको छ।
यी गाउँहरुमा अर्गानिक खेती, पशुपालन, सिलाईकटाइ तथा सीपमुलक तालिम, स्वास्थ्य उपचार र होम स्टेका कार्यक्रमहरु संचालन गरी आयआर्जन र जीवनस्तर उकास्ने परियोजनाहरु संचालनमा आउन थालेपछि स्थानीयवासी उत्साहित छन्।
पहिलो वर्ष प्रत्येक घरपरिवारले न्यूनतम पनि २ लाख रुपैयाँ आर्जन गर्न सकुन् भन्ने गरी परियोजना संचालन भैरहेको सेल्टर नेपालकी अध्यक्ष खुश्वु ओलीले जानकारी दिइन्। उनका अनुसार यी गाउँमा अर्गानिक खेती, पशुपालन, बायोग्यास तथा सीपमुलक तालिम संचालन गरेपछि आएको परिवर्तन महसुस हुन थालिसकेको छ।
उनीहरु किसानलाई लगानी गरिदिने तर त्यसबापत प्राप्त नाफाको केही अंश अर्को किसानलाई लगानी गर्नुपर्ने शर्त पहिले नै राख्छन्। जस्तै बाख्रा किनिदिने तर पहिलो पाठो छिमेकीलाई दिनुपर्ने नियम उनले राखेकी छिन्।
सित्तैमा पाएको वस्तु वा लगानीको महत्व कम हुने भएकाले किसानलाई समाजप्रतिको दायित्वबोध गराउनकलागि यसो गरिएको खुश्बुले बताइन्। उनी भन्छिन्- 'किसान हुँ भन्दा हिनताबोध होइन सम्मान हुनेगरी हामी काम गरिरहेका छौं। पाँच वर्षमा यो परियोजना झापा मात्र होइन देशका धेरै गाउँहरुमा पुगिसक्छ।'
गोल्यान फाउन्डेसनसँग मिलेर खुश्बुको सेल्टर नेपालले देशभरका गाउँलाई विशेष पहिचानका साथ नमुना गाउँ बनाउने लक्ष्य राखेको उनले बताइन्।
यो सबै कामका लागि गीतान्जली जस्ता युवालाई समावेश गर्दा उनीहरुमा कृषिप्रतिको मोह र लगाव बढेको छ। यी युवाहरु खेतमा कस्सिएर लागेको देख्दा स्थानीय गाउँलेलाई पनि दुई छाकका लागि खेती गर्नेमात्र भन्दा पनि 'पैसा कमाउने पेशा' नै बनाउन सकिन्छ कि भन्ने आस पनि पलाएको छ।
पहिले पहिले खेतबारीमा किरा मार्ने दबाई हाल्दा तीन चारदिनसम्म वाकवाक लाग्थ्यो। छाला पोल्ने, चक्कर लाग्ने हुन्थ्यो। महारानीझोडाका किसान पूण्यप्रसाद घिमिरेले यी नै युवाको भनाई मान्दै पहिलोपटक विषादीरहित खेती थालेपछि पुरानो अनुभव सुनाए।
उनले १ कठ्ठामा कोपी र १ कठ्ठामा खुर्सानी लगाएर अर्गानिक खेती थालेका छन्। ' औषधी नहाले धेरै फल्दैन भन्छन् त्यसैले अर्गानिक सुरु गर्न धेर डराएँ। राम्रो हुँदै गो भने अरु पनि थप्छु'- उनी आशावादी देखिए।
फुलगाँछीका गणेश शिवाकोटी भने यतिबेला दोधारमा छन्। १६ वर्षकै उमेरमा खाडी भासिएका गणेशले बाँकी १८ वर्ष बिदेशमै बिताए। पटक पटक कतार, मलेशिया र दुबई गएका गणेश अहिले गाउँको चहलपहलबाट उत्साहित पनि छन्। उनको १८ कठ्ठा जमीन छ। दुईवटा गाई छन्। यही खेतीबाट पो उकालो लागिन्छ कि भन्ने आस पो पलायो। उनले भने - 'अब बिदेश जाउँ कि नजाउँ दोधारमा छु।'
भर्खरै यो गाउँमा होम स्टे पनि सुरु भएको छ। घरमा पाहुनालाई राखेर पनि आम्दानी हुने खेती किसानी गर्दा बजार खोज्न जान नपर्ने स्थिती बन्ने भएपछि उनीलाई पनि बिदेश नजाउँ कि जस्तो लाग्छ।
उनी भन्छन्-'हामीलाई दुई छाकको दुख होइन। दूध, दही पनि प्रशस्त हुन्छ। धान पनि वर्षदिनलाई पुग्ने खेतमै फल्छ तर भनेको बेला पैसा हातमा हुन्न।' गाउँका सबै युवा यस्तै बाध्यताले बिदेशिने गणेशले बताए। उनी आफैँ पनि एसएलसी फेल भएपछि पहिलोपटक बिदेशिएको बताउँछन्।
'डिग्री पढेका काकाले जागिर पाएनन्। खेतीले कौडीको भाउ पाउन्न। यस्तै देखेपछि मलाई देशमा बस्न मन लागेको थिएन। अब चैं फेरिन्छ कि!' नमुना गाउँ अभियानले गणेशको मनमा आशाको बिउ रोपिदिएको छ। वर्षदिनकी छोरी प्रशन्नालाई फुल मकै ख्वाउँदै गरेका गणेशले भने- 'के गर्नु राहदानी म्यानपावरमा बुझाइसकेको छु। उता गतिलो काम पाइने टुंगो नि छैन। यहीँ गाउँ नमुना बन्ने भए म किन बिदेश जान्थें!'
खेतीको उत्पादनलाई बजारको दूख नहुने र उत्पादनको चित्तबुझ्दो भाउ पाउने आश्वासन पनि गाउँका किसानले पाएका छन्। परियोजना अन्तर्गत नै अर्गानिक उत्पादनको बजार खोज्ने जिम्मा फाउन्डेसनले लिएको छ। किसानलाई अर्गानिक खेतीतर्फ प्रेरित गर्ने काम गीतान्जलीजस्ता कृषि प्राविधिकहरुले गरिरहेका छन्।
फुलगाँछी गाउँमा तीनवर्ष अघि गाइबस्तुपालनबाट जति दूध उत्पादन हुन्थ्यो त्यसले स्थानीय दूध संकलन केन्द्रको १ हजार लिटरको चिलिङ भ्याट भरिँदैनथ्यो। अहिले किसानहरुमा पशुपालनप्रतिको आकर्षण यसरी बढेको छ कि संकलन केन्द्रको ३५ सय लिटरको चिलिङ भ्याट भरिएर दूध बिक्री हुन समस्या पर्न थालेको स्थानीय शुभलक्ष्मी अर्गानिक कृषि फार्मका अध्यक्ष सुन्दरलाल गणेशले बताए।
फुलगाँछीमा डेढ सय परिवार किसान छन्। अहिले फुलगाँछी गाउँमा मात्रै ८ देखि ९ हजार लिटर दुध उत्पादन हुने गरेको स्थानीय किसान विष्णु अधिकारी बताउँछन्। गएको असारमा त किसानहरुले दूध सडकमै पोखेर आन्दोलन गरे। तर नमुना गाउँ अभियान अन्तर्गत गोल्यान फाउन्डेसनले दूग्ध किसानको समस्या हल गर्न गाउँमै छुर्पी कारखाना खोल्न पहल थालिसकेको छ।
'जग्गाको टुंगो लागिसक्यो अब कारखाना खुल्नमात्र बाँकी छ।'- अध्यक्ष गणेशले उत्साहित हुँदै भने- 'अब हामीले दूध फाल्नु पनि पर्दैन।' जति पनि दूध गाउँमा उत्पादन हुन्छ कारखानाले नै किनिदिन्छ। यसैकारण गाउँका किसान खुशी छन्।
कृषि प्राविधिकहरुले गाउँमा देखाएको लगाव र किसानहरुलाई कन्भिन्स गर्न खर्चिएको परिश्रमका कारण उनीहरुमा पशुपालन र अर्गानिक खेतीतर्फ झुकाव बढ्दै गएको देखिन्छ। उनीहरु माछापालनमा पनि सक्रिय हुन थालेका छन्।
परियोजनाले नै उनीहरुलाई गाइभैंसी किन्न र माछा पाल्न लगानी समेत गरिदिएको छ। कृषि प्राविधिहरु जतिबेला पनि किसानको समस्या हल गर्न गोठ र खेतमै पुगेपछि गाउँलेहरुमा पनि 'नमुना गाउँ' मोडेलप्रति विश्वास बढेको छ।
बिएस्सी एजी सकेर बिदेशिने सोच बनाएका कृषि प्राविधिक काठमाडौंका सचिन तत्कालकालागि बिदेश जाने रहर मारेका छन्। पहिले केही वर्ष गाउँमै काम गर्छु। उनी भन्छन् - 'किताबमा मात्र पढ्नु र बास्तवमा खेतमा पस्नु धेरै फरक हुने रहेछ। कलेजले पनि अर्निङ र लर्निङ भनेको थियो। त्यही भिजनले पनि मलाई काम गर्न प्रेरित गर्यो।'
सुर्खेतकी गीतान्जली पनि बिएस्सी एजी भर्ना हुनुभन्दा अघि खेतबारीकै अनुभव बटुल्न चाहन्छिन्। पहिलोपटक घर छोडेर निकै पर झापा आइपुगेकी उनलाई घरिघरि सुर्खेतको न्यास्रो पनि लागेर आउँछ। बुवा, आमा र एउटा भाईको पनि उत्तिकै सम्झना आउँछ।
तर गाउँमा गर्नुपर्ने धेरै काम छन्। भन्छिन्- किसानहरुलाई बल्ल बल्ल अर्गानिक खेतीतर्फ 'कन्भिन्स' गराइरहेका छौं। न्यास्रो लाग्दैमा काम छोडेर फुत्त हिँड्ने कुरा पनि त भएन। फोनबाट कुरा भैरहेकै छ अब एकफेर मिलाएर घर पुगेर आउँछु। गीतान्जली मुस्कुराइन्।