PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

बलिउडको 'जी कम्पनी'का दुई म्युजिक भिडियोमा समिम, 'नेपाली फिल्ममा स्थापित हुन मन छ'



पहिलोपोस्ट

बलिउडको 'जी कम्पनी'का दुई म्युजिक भिडियोमा समिम, 'नेपाली फिल्ममा स्थापित हुन मन छ'

गत नोभेम्बरमा समिम खानलाई निर्देशक आकाश पाण्डेको फोन आयो।

'ल बधाई, भारतीय गीतमा तिमी फिचर्ड हुने भयौ।'

'म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६'का विजेता समिमलाई आकाशका कुरा सुरुमा विश्वास नै लागेन। तर, उनलाई जी म्यूजिक कम्पनीको टिमले नयाँ गीतका लागि सेलेक्ट गरिसकेका थिए।

समिमलाई जी टिमबाट पनि गीतका लागि मोडलमा छनौट गरिएको खबर आयो। खुशीको सीमा रहेन।

'सुरुमा विश्वास नै लागेको थिएन। जी कम्पनी गीत सुटिङका लागि नेपाल आउने कुरा भएको रहेछ। आकाशको उता पिआर राम्रो थियो। मोडल सेलेक्सनमा उहाँले नेपालबाट मेरो फोटो पठाउनु भएछ,' उनले सुनाए 'जीले सेलेक्ट गरेपछिमात्र आकाशले मलाई भन्नुभयो।'

जी कम्पनीले अन्य दुई बलिउड कलाकारलाई आउट गरी समिमलाई छनौट गरेका थिए। बलिउड इन्डस्ट्रीसँग काम गर्ने कुराले उनमा छुट्टै खुशी थपियो।

निर्देशक आकाशसँग उनको पहिलादेखि नै चिनाजानी थियो। आकाशले नेपाली फिल्मसँगै बलिउडमा सहायक निर्देशकको रुपमा काम पनि गरिसकेका छन्।

आकाशले नेपालमा छायाँकन गर्ने भनिएको जीको नयाँ गीत समिमलाई सुनाए। बलिउड गायिका आकांक्षा शर्माले गाएको स्याड भर्जनको गीत उनलाई मन पर्‍यो। त्यसबीच जीको प्रोडक्सन टिमसँग उनको कुराकानी सुरु भइसकेको थियो। टिमले उनलाई गीतको कन्सेप्ट पनि सुनाउँदै थिए।

छायाँकनको तयारी सकियो। नोभेम्बर अन्तिमतिर प्रोडक्सन टिम नेपाल आयो। गीत छायाँकन भयो। उनीहरुले समिमको काम रुचाए। नयाँ गीतको अफर पनि गरे समिमलाई। समिमले तुरुन्तै अर्को गीत पनि गरे।

सुनाए 'प्रोडक्सन टिम नेपाल आएपछि कन्ट्र्याक भयो। पहिला एउटा गीतमा अभिनय गर्ने कुरा थियो। जीको सेड्यूल टाइट थियो। त्यही सेड्यूलमा अर्को गीत पनि छायाँकन गरियो।'

उनलाई सुरुमा अफर गरिएको गीत सार्वजनिक हुन बाँकी छ। तर, पछि अफर गरिएको 'कुछ तो हे'बोलको नयाँ गीत हालै सार्वजनिक भएको छ। गीतबाट सकारात्मक प्रतिक्रिया आएको उनी बताउँछन्। बलिउडमा पनि समिमको इन्ट्रीको चर्चा छ। गीतलाई भारतीय गायिका ज्योतिका टाङ्ग्री र एसर देसैले गाएका हुन्। गीतमा अजय जैसवालको संगीत र राशी महेस्वरीको शब्द छ। गीतको भिडियोमा समिमसँगै नेपाली मोडल सृष्टि खड्का फिचर्ड छिन्।

स्वप्निल जैसवाल निर्देशित म्यूजिक भिडियोमा पवन गौतमको छायाँकन, कृष्ण रसलको कोरियोग्राफी छ।

नेपाली इन्डस्ट्रीलाई जी टिभी नेटवर्कसँग जोडेर अगाडि बढ्न नेपाल आएको भिडियो निर्देशक स्वाप्निलले बताए।  

अब समिम गायिका आकांक्षाको गीतमा पनि देखिँदैछन्। भिडियोमा उनीसँगै आकांक्षा पनि फिचर्ड रहेने बताइएको छ। उनी गीतलाई नेपाली र भारतीय दर्शकले रुचाउनेमा आशावादी छन्।  

समिमले मोडलिङमा ५ वर्ष विताएका छन्। उनी डाबरका ब्राण्ड मोडल पनि हुन्। हालै नेदरल्याण्डको इन्टरनेसनल प्रोडक्टको ब्राण्ड मोडल पनि बनेका छन् समिम।

उनी दुई वर्ष अघिदेखि नेपाली फिल्ममा डेब्यू गर्ने तयारीमा छन्। उनलाई म्यान्ट हन्ट विजेता भएपछि फिल्महरुको अफर नआएको होइन। तर, उनलाई स्क्रिप्ट चित्त बुझेन।

अब भने उनी फिल्ममा अभिनय गर्ने तयारीका साथ अघि बढेका छन्। 

उनले भने 'एमटिभीमा गीत आयो भने मेरो प्रोफाइल झनै बलियो हुन्थ्यो। बलिउड गीतमा अभिनय गर्न पाउनु त मेरो लागि 'ड्रिम कम ट्रू' नै हो।'

जी कम्पनीले नेपाली इन्डस्ट्रीसँग सहकार्य गर्न खोजिरहेको अवस्थामा समिमले बलियो भुमिका निभाएको बताउँछन्।

'भारतीय इन्डस्ट्री नेपालसँग सहकार्यमा आउन खोजिरहेको छ। तर, नसकिरहेको अवस्थामा मैले बलियो भुमिका निभाउन पाएको छु। मैले उनीहरुसँग सहकार्य गरें। उनीहरुको नेपालमा लागि ढोका खुलेको छ। प्रोडक्सन कम्पनीसँग नयाँ प्रोजेक्टको कुरा पनि भइरहेको छ' उनले भने।

उनका अनुसार जी नेपालको टिम, मोडल र क्रुसँग काम गर्न तयार छ। उनीहरु नेपालका टिमसँग बलिउड गीत छायाँकन गर्ने सहकार्यमा अघि बढ्न चाहन्छन्।

आकाश र समिम यस सहकार्यमा अघि बढेका छन्। उनीहरुले जीका लागि बाटो खोलिसकेका छन्। जी टिभीको तर्फबाट नेपाली निर्माता राजन जैन यसमा आवद्ध छन्।  

समिम २०१४ देखि मोडलिङमा सक्रिय छन्।

तनहुँको दमौलीमा जन्मेका उनी काठमाडौं बस्न थालेको २ वर्ष भयो। यसअघि उनी लण्डनमा बसे ४ वर्ष। एमबिए गर्न लण्डन पुगेका उनलाई फिल्ममा अभिनय गर्ने हुटहुटीले नेपाल ल्यायो। भन्छन् 'अभिनयको सपना पुरा गर्न पढाइ सकेर म यहाँ आएँ। मलाई अब नेपाली फिल्ममा नै स्थापित हुन मन छ।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell