काठमाडौँः २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट नेशनल ट्रेडिङ परिसरमा रहेको आयल निगमको जग्गामा पाल हालेर बस्दै आएको प्रहरीलाई ठाउँ खाली गर्न निगमले पत्राचार गरेको छ। टहरामा बसेको प्रहरीलाई उक्त ठाउँ पनि खाली गर्न पत्राचार भएपछि प्रहरी कहाँ बस्ने अनिश्चित छ।
भूकम्पपछि हनुमानढोकाबाट महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखा टेकु सरेका थिए।
पढ्नुस्ः प्रहरीकै यस्तो बेहाल, सेवाग्राहीलाई सकस
भूकम्पका कारण बबरमहलमा रहेको कार्यालय चर्किएकाले नेशनल ट्रेडिङसँग किनेको जग्गामा निगम सर्न लागेको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतले बबरमहलको कार्यालय चर्किएको र ठाउँ समेत अभाव भएकाले टेकु सर्न लागिएको बताए।
निगमले परिसर र महाशाखा सार्नका लागि गृह मन्त्रालयलाई आग्रह समेत गरिसकेको छ। निगमले गत वर्ष ५१ रोपनी जग्गा प्रति आना ४० लाख रुपैयाँका दरले ३ अर्ब २५ करोड रुपैयाँमा नेशनल ट्रेडिङसँग किनेको थियो।
यो जग्गामा निगमले कमर्सियल कम्प्लेक्स बनाउने योजना समेत बनाएको छ।