PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कर्म अमेरिकातिर, मन भने कर्णालीतिरै : बालबालिकादेखि विपदमा परेकालाई यसरी सघाउँदै जयन्ती 



पी बी खड्का

कर्म अमेरिकातिर, मन भने कर्णालीतिरै : बालबालिकादेखि विपदमा परेकालाई यसरी सघाउँदै जयन्ती 

सुर्खेत: सुर्खेतमा हुर्किएकी जयन्ती थापा हाल अमेरिकाको भर्जिनिया बस्छिन्। अमेरिकामा बसेपनि बेलाबेला थापाले कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा असहाय बालबालिकादेखि विपदमा परेकालाई सहयोग गर्दै आएकी छिन्।


थापाले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कैलाली र बाजुराका असहाय र विपन्न वर्गका बालबालिकाको पढाई लगायत स्वास्थ्योपचार खर्चका लागि सहयोग गर्दै आएकी छिन्। 


‘कर्णाली प्रदेशका केही जिल्ला र सुदूरपश्चिमका केही जिल्लाका गरिब, असहाय बालबालिकाको पढाई खर्च र उपचार खर्चमा सानो सहयोग गरिरहेकी छु,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएरै पढ्न नपाएका,  दयनीय जीवन बिताइरहेका, शारीरिक रूपमै भगवानले ठगेकाको जीवनमा थोरै भए पनि केही सहयोग गरेकी छु। यसैमा खुसी लाग्छ।’


विगत चार वर्षदेखि पालमा रहेका सुर्खेतका बाढीपीडित र गत पुस ८ गते कालिकोटमा भएको अग्निपीडितलाईसमेत राहत सामग्री दिँदै आएकी छिन्।  


‘नेपालमा वार्षिक सहयोगमै झन्डै ६ लाख खर्चिने गरेकी छु,’ उनले भनिन्, ‘गरिबीले पिल्सिएका बालबालिकाको केही हदसम्म भए पनि उद्धार र विपदमा परेकालाई सहयोग गर्दा आत्मसन्तुष्ट मिलेको छ। जेजति सक्छु अझै सहयोग गरिरहने छु।’ 


बाढीपीडित र अग्निपीडितको सहारा


२०७१ साल साउनको अन्तिमबाट पालमुनि रहेका सुर्खेतका बाढीपीडितको सहारा बनेकी छन् जयन्ती। चार वर्षदेखि घरबार विहीन बनेका झन्डै ९ सय घरपरिवारलाई न्यानो कपडा सहयोग गरेकी छन्।  उनले सुर्खेतको वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्र, गिरीघाट, भेरीगंगामा रहेका बाढिपीडितलाई पनि सहयोग गरेकी हुन्। यसरी सहयोग गर्ने काममा जयन्तीलाई बुवा धर्मजंग र आमा पार्वती सघाउँदै आएका छन्। 


त्यसै गरी, गत पुस ८ गते राति कालिकोटको पलाता गाउँपालिका वडा नं. १ खाडामा भएको आगलागी पीडितलाई उनले ब्लाङ्केट किन्न १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। 


त्यस्तै, उनले बाजुरास्थित अनाथ बालबालिका सुधार गृहलाईसमेत सहयोग गरेकी छन्। 

विपन्न र अनाथ बालबालिकाको अभिभावक


थापाले उनको नाममा स्थापना गरिएको अक्षयकोषबाट विभिन्न विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएकी छिन्। 


थापाले २० जना विद्यार्थीको पढाइदेखि सम्पूर्ण खर्च सम्हाल्दै पढाई रहेकी छन्। उनले रुकुमको कालिका प्राथमिक विद्यालय सुन्दरपानी, दीपज्योती प्राथमिक विद्यालय र बालकल्ण माध्यमिक विद्यालयका एक/एक जना विपन्न वर्गका  विद्यार्थी पढाई रहेकी छिन्।
त्यस्तै, जाजरकोटको नारायण माध्यमिक विद्यालयका ४ जना, सुर्खेतको अमरज्योति नमुना माध्यमिक विद्यालयका ६ जना, जनजागृत प्राथमिक विद्यालय पदमपुरका ३ जना विद्यार्थीको सम्पूर्ण पढाई खर्च बेहोर्दै आएकी छन्। 


‘आर्थिक अभावकै कारणले उनीहरू पढ्नबाट वञ्चित नहुन् भन्ने मेरो मान्यता हो,’ थापाले भनिन्,‘विपन्न वर्गका विद्यार्थीका लागि मैले सक्ने सहयोग गरेकी छ। यसरी बालबालिकाको पढाइमा वार्षिक एक लाख रुपैयाँ खर्चिएकी छु।’ 


त्यस्तै, उनले सुर्खेतका दुई वटा विद्यालयमा चार लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन्। आफूले अध्ययन गरेको अमरज्योति नमुना माध्यमिक विद्यालयमा आफ्नो नामबाट ३ लाखको अक्षय कोष र बाबु आमाको नामबाटसमेत जनजागृत प्राथमिक विद्यालय पदमपुरमा एक लाखको अक्षय कोष खडा गरेकी छिन्। उक्त अक्षयकोषको रकमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ। 


सुर्खेतको सिम्ताको राकममा दृष्टिविहीन छात्रवासलाईसमेत सहयोग गरेकी छन्। उनले विद्यार्थीका लागि पलङ, डसना र सिरक दिएकी प्रदान गरेको दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतका जीवनकुमार शाक्यले बताए। साथै उनले बहिरा स्कुल खजुरामासमेत शैक्षिक सामग्री लगायत न्यानो कपडा वितरण गर्दै आएकी छन्। 


झन्डै हजार विद्यार्थीलाई न्यानो कपडा 


समाजसेवी थापाले यस वर्षमात्रै कर्णाली र सुदूरपश्चिम गरेर हजार बढी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकी छिन्। दैलेख, जाजरकोट, सुर्खेत, रुकुम लगायतका जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै न्यानो कपडा सहयोग गरेकी छन्।  


त्यस्तै, थापाले सडक बालबालिकाको उद्धार र उनीहरुलाईसमेत सहयोग गर्दै आएकी छन्। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका शारीरिक रूपमा अशक्त र मानसिक रूपमा पीडित सडक बालबालिकालाई आर्थिक सहयोग गरेकी छन्। 


थापाले उपचार अभावमा छटपटाईरहेका बालबालिका तथा ज्येष्ठ नागरिकलाईसमेत उपचार सहयोग गरेकी छिन्। आर्थिक अभावमा उपचार नपाइरहेका बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग गर्दै आएकी हुन्। क्यान्सर, पक्षघात, दीर्घरोगीसहित दुर्घटनामा परेर उपचार अभावमा छटपटाइरहेका बिरामीलाई सहयोग गर्दै आएकी छन्। 


थापाले स्वास्थ्य र शिक्षामा मात्रै नभएर वातावरण सरसफाइमा समेत सहयोग गर्दै आएकी छन्। उनले सुर्खेतमामात्र हैन रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको रारी बजार सरसरसफाई अभियानलाई समेत सहयोग गरेकी छन्। सरसफाइको क्षेत्रमा जनचेतना फैलाउन होस् या फोहोर व्यवस्थापन गर्ने डस्बिन राख्ने लगायतका कार्यक्रममा सहयोग गरेकी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell