
बलरहरुको उत्कृष्ट प्रदर्शन अनी शिखर धवनको अर्धशतक मद्दतमा भारतले न्यूजिल्याण्ड विरुद्धको पहिलो एकदिवसीय ८ विकेटले जितेको छ। जितपछि भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता समेत लिएको छ।
नैपरस्थित म्याकलेनमा भएको खेलमा भारतले डीएलएस मेथडमा प्राप्त १५६ रनको लक्ष्य ३४.५ ओभरमा पुरा गरेको हो।
सुरुमा भारतले ५० ओभरमा जितका लागि १५८ रनको लक्ष्य पाएपनि खराब मौसमका कारण खेल एक ओभर घटाएर भारतलाई १५६ रनको नयाँ लक्ष्य दिइएको थियो।
भारतका लागि ओपनर शिखर धवनले नटआउट ७५ रन बनाए। उनले १०३ बल खेल्दै ६ चौका प्रहार गरे। यस खेलपछि धवन दोस्रो छिटो ५ हजार रन पूरा गर्ने भारतीय खेलाडी बनेका छन् भने वेष्ट इन्डिजका ब्रायन लारासँग बराबरी गरेका छन्। उनले ११८ इनिङ्समा उक्त उपलब्धी पुरा गरेका हुन्। त्यसअघि विराट कोहलीले ११४ इनिङ्समै उक्त सफलता हात पारेका थिए। दक्षिण अफ्रिकाका हासिम अमलाले सबैभन्दा छिटो ५ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका छन्। उनले १०१ इनिङ्समै ५ हजार रन पुरा गरेका थिए।
कप्तान विराट कोहलीले ४५ रन जोडे। अम्बाटे राएडु १३ रनमा नटआउट रहे।
रोहित शर्माले ११ रन बनाए। न्यूजिल्याण्डका लकी फर्गुसन र डग ब्रेसवेलले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्यूजिल्याण्ड १५७ रनमा अलआउट भएको थियो। कप्तान केल विलियम्सनले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा न्यूजिल्याण्ड १२ ओभर अघि नै अलआउट भएको हो।
विलियमसनले ८१ बल खेल्दै ४ चौकाको मद्दतमा ६४ रन बनाए। यस्तै रोस टेलरले २४ रन जोडे।
न्यूजिल्याण्डलाई अलआउट गर्न भारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। भारतका कुदलिप यादवले ४ तथा मोहम्मद शामीले ३ विकेट लिए। कुदलिपले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चे भने शामीले ६ ओभरमा २ मेडन राख्दै १९ रन खर्चिए। न्यूजिल्याण्डका ओपनर मार्टिन गुप्टिललई आउट गर्दै शामीले एकदिवसीयमा भारतको लागि छिटो १०० विकेट लिने कीर्तिमान बनाए। उनले ५६औँ खेलमा ३ विकेट लिएका हुन्। यसअघि इरफान पठानले ५९ खेलमा उक्त उपलब्धी हासिल गरेका थिए।
यस्तै युजभेन्द्र चाहलले २ र केदार जादवले १ विकेट लिए।