
काठमाडौँ : धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ गतेबाट धनगढीमा हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले मान्यता दिएको छ।
एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै तेस्रो संस्करणको प्रतियोगितालाई आइसीसीले मान्यता दिएको जनाएको हो।
एकेडेमीका अध्यक्ष सुवाश शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा आइसीसीको मान्यतासँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ।
देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यवसायिक बनाएको डीपीएलको ६ वटै टोलीले दुई जना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ। आइसीसीको मान्यता पाएपछि अब सहभागि फ्रेन्चाइजलाई विदेशी खेलाडी अनुबन्ध गर्न पनि हसज भएको छ।
५ करोड अनुमानित लागत रहेको डीपीएलको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा हुदैछ। जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्दैछन्।
६ वटै टोलीले यसअघि भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरि १५-१५ खेलाडी टोलीसँग आवद्ध गर्नुपर्ने छ। केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् भने केही टोलीको बाँकी छ।
टी–२० फर्म्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।