
काठमाडौं : ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठन भएको छ। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन भएको घोषणा गरिएको हो।
नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए। नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहलाई राष्ट्रिय मान्यता थियो।
दुवै पक्षसंग छलफल गरी राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा खेलकुद मन्त्रालयद्वारा गठित राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिले बुझाएको प्रतिवेदनका आधारमा राखेपले जिम्न्याष्टिक संघको पुनर्गठन गरेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका समितिका सदस्य कुलबहादुर थापाले जनाएका छन्। एकिकरण घोषणा कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं प्रतिनिधि सभा सांसद् जीवनराम श्रेष्ठ, सांसद् उमेश श्रेष्ठ, उपाध्यक्ष तिम्सिना, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतको उपस्थिति थियो।
पुनगर्ठित संघको सह अध्यक्षमा किशोरबहादुर सिंह, उपाध्यक्षत्रयमा गीता राणा, बाबुराम थापा र राजेश खड्का, महासचिवमा मुकुन्द शर्मा तथा सचिवमा मुकुन्दलाल नकर्मी र बचन देउजा रहेका छन्। सदस्यमा जनक भट्टराई, सैलेन्द्र श्रेष्ठ, पुरन गिरी, इन्दिरा दाहाल, सुशिलप्रकाश प्रधान, कुश्मिला आचार्य, शंकर पौडेल, रामेश्वर जोशी, सूर्यबहादुर अधिकारी, प्रमिला सिंह, रामप्रसाद बराल, अरुण राठ्ठी, मोहन भट्ट, दीपक प्रजापति, पूर्णमान वज्राचार्य, प्रवीण उप्रेती, सन्देश मानन्धर, सुनिलमान सिंह, विष्णुनारायण बाछा र रुपेश बस्नेत छन्।
मनोनितहरुलाई बुधबारै खेलकुद मन्त्री विश्वकर्माले मनोनयन पत्र हस्तान्तरण गरे। पत्रमा संघलाई समय सापेक्ष विधान संशोधन गर्दै राखेपबाट स्वीकृत गरी ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ।
मन्त्री विश्वकर्माले जिम्मेवारीबोधका साथ दुई संघका पदाधिकारी एकिकृत हुन राजी भएकोमा दुवै पक्षलाई धन्यवाद दिँदै एकिकरणका लागि समितिले गरेको मेहनत र भूमिका सकारात्मक र प्रंशसनीय रहेको बताए। मन्त्री विश्वकर्माले जिम्न्याष्टिक संघको एकिकरणको सन्देशले अन्य संघमा रहेको विवाद पनि क्रमै संग मिल्दै जाने विश्वास व्यक्त गरे।
एनओसी अध्यक्ष श्रेष्ठले खेलकुदका साथै हरेक क्षेत्रमा हुनुपर्ने एकता भएकोमा खुशी लागेको बताउदै एकताले नै परिणाम, सफलता र शक्ति दिने धारणा व्यक्त गरे। अध्यक्ष श्रेष्ठले एकताले खेलकुदको मान्यतालाई अंगिकार गरेको विचार व्यक्त गरे।
उपाध्यक्ष तिम्सिनाले जिम्न्याष्टिक संघको एकिकरण समितिलाई दिइएको जिम्मेवारीको एउटा सानो किस्ता र पेश्की मात्र भएको बताउदै आगामी दिनमा विवादमा रहेका अन्य संघलाई पनि व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
एसियाली जिम्न्याष्टिक युनियनका उपाध्यक्ष समेत रहेका प्रधानले खेलकुद मन्त्रालय, राखेप र समितिले दिएको जिम्मेवारीलाई समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राम्रो समझदारीबाट संघलाई अगाडि बढाउनुका साथै जिम्न्याष्टिकको स्तरबृद्धिमा एकजुट भइ काम गर्ने बताए ।
सह–अध्यक्ष सिंहले दुवै पक्षको सुझबुझले एकता सम्भव भएको बताउदै विगतका कुरालाई बिर्सेर जिम्न्याष्टिकको विकासमा सक्रिए हुनुपर्ने आवश्यकता औल्याए ।