सुर्खेतः जुम्ला परेको हिमपातमा कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। सोमबारदेखि लगातार परेको हिउँमा परी जुम्ला सिंजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको हो। पटमारादेखि जोडु जानेक्रममा नाकुल्ली लेकमा हिउँ र हावाहुरीका साथै हिमतुफानमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरीका अनुसार बुढा पटमाराबाट राडीपाखी बेचविखन गर्न गाउँ जाने क्रममा मृत्यु भएको हो। बुढाका साथमा दाई पनि थिए। उनी भने घाइते अवस्थामा फेला पारेको जनाइएको छ। तीव्र हिमतुफानका कारण दुबै भाई बेपत्ता भएका थिए। खोजीका क्रममा दुई फिट बढी हिउँ परेको स्थानमा बुढालाई मृत अवस्थामा फेला पारिएको हो।
कर्णालीका हिमाली जिल्लामा भारी हिमपात भएकाले जनजीवन प्रभावित बनेको छ।