PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

चेपुवामा चिकित्सा विधेयक, मुठभेडतिर सत्तापक्ष-प्रतिपक्ष सांसद्



पहिलोपोस्ट

चेपुवामा चिकित्सा विधेयक, मुठभेडतिर सत्तापक्ष-प्रतिपक्ष सांसद्

काठमाडौँः पूर्वप्रधानमन्त्रीद्वय गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघ मातहत रहनेगरी गठन आदेश निरन्तरताको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्को अवरोधलाई जारी राखेको छ। अवरोधकै कारण एक सातादेखि राष्ट्रियसभा स्थगित छ। प्रतिनिधिसभा भने सोमबारको बैठकपछि स्थगित गरिएको थियो।

सदनको कारबाही अवरुद्ध हुँदा विचाराधीन चिकित्सा विधेयक भने पेस हुन सकेको छैन। सोमबारको प्रतिनिधिसभाको बैठकमा अवरोधका बीच विधेयक पेस गर्ने समय सभामुख कृष्णबहादुर महराले दिए पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेल रोष्ट्रमसम्म पुग्न सकेनन्।

पढ्नुस्ः कांग्रेस र नेकपाका सांसदबीच ठेलमठेल : देव गुरुङले स्कर्टिङ गर्दा पनि गिरिराजमणि रोस्टम पुग्न सकेनन्

अन्योलका बीच शुक्रबार पुनः संघीय संसदका दुबै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभामा भने चिकित्सा शिक्षा विधेयक पेसको कार्यसूची छ।

विधेयक पेसको कार्यसूची भए पनि बैठकको कारबाही अघि बढ्ने वा नबढ्ने निश्चित छैन।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधेयक प्रक्रियागत रुपमा पारितको पक्षमा छ। अवरोधकै अवस्था आए पनि शुक्रबार विधेयक पेस गर्ने रणनीतिमा सत्तापक्ष छ।

पढ्नुस्ः चिकित्सा शिक्षा विधेयक पारित गराएरै छाड्छौँ : सरकारका प्रवक्ता, भने- 'डाक्टरसाबले विधेयक त पढ्नु भाछ?'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भने कुनै पनि स्थितिमा विधेयक रोक्ने पक्षमा छ। कांग्रेसको बिहीबार बसेको केन्द्रीय समिति बैठकले पनि सदनको अवरोधलाई जारी राख्ने निधो गरेको छ। जुनसुकै अवस्थामा पनि विधेयक पेस हुन नदिने कांग्रेसको रणनीति छ।

पढ्नुस्ः कांग्रेसले फेरि संसद अवरुद्ध गर्ने, संवैधानिक नियुक्तिप्रति असहमति

सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो रणनीतिमा रहँदा चिकित्सा शिक्षा विधेयक पेस र पारितको कार्यसूची भने लम्बिइरहेको छ। गत शुक्रबारको बैठकदेखि नियमित कार्यसूचीमा रहेको विधेयक अवरोधका कारण पेस हुन सकेको छैन।

नेपाली कांग्रेसले अस्पतालको विवादसँगै विधेयक परिमार्जनलाई पनि सदन सञ्चालनको बटमलाइन बनाएको छ। अनशनतरत डा. गोविन्द केसीको माग विधेयकले सम्बोधन नगर्ने भन्दै कांग्रेस विधेयक रोक्ने रणनीतिमा छ। सरकार र सत्तारुढ दलले भने विधेयकले डा. केसीका अधिकांश माग सम्बोधन गरेको दाबी गर्दै आएका छन्।

सदनमा सत्तापक्ष प्रतिपक्ष विवाद चुलिँदा सांसद्बीच नै मुठभेडको अवस्था सिर्जना भइरहेको छ। सोमबारको बैठकमा दुबै पक्षका सांसद् रोष्ट्रमअघि पुगेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका थिए।     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell