PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

पहिलो ओडिआईमा नेपालको खराब ब्याटिङ, युएई विरुद्ध ११३ रनमै अलआउट



पहिलोपोस्ट

पहिलो ओडिआईमा नेपालको खराब ब्याटिङ, युएई विरुद्ध ११३ रनमै अलआउट
PHOTO : UAE CRICKET BOARD

काठमाडौँ : युएई विरुद्धको पहिलो ओडिआईमा नेपालको पुरानै समस्या दोहोरिँदा ११३ रनमै अलआउट भएको छ। ३ खेलाडीले ओडिआईमा डेब्यु गर्दा विनोद भण्डारीले ओपनिङको भूमिका निर्वाह गरेका थिए।

तर ३ खेलको ओडिआई सिरिजअन्तर्गत शुक्रवारको पहिलो ओडिआईमा नेपालले ब्याटिङमा सुधार गर्न सकेन।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरदेखि नै विकेट गुमाएको थियो।

नयाँ कप्तान मोहम्मद नाभिदको नेतृत्वमा रहेको युएईको बलरहरुले उत्कृष्ट बलिङ गर्दै नेपाललाई ३३.४ ओभरमा ११३ रनमा अलआउट गरेको हो।

नेपालको लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा, आरिफ शेखले २५ र कप्तान पारस खड्काले २० रन जोडे। यस्तै सन्दीप लामिछानेले १५ रन जोडे।

पारस, सोमपाल र आरिफबाहेक नेपालको इनिङ्समा बाँकी खेलाडीले दोहोरो स्कोर छुन सकेनन्। ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मीले खाता समेत खोल्न सकेनन्।

उपकप्तान ज्ञानेन्द्र मल्लसँगै विनोदले ओपनिङको सुरुवात गरेका थिए। तर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमा चौथो बलमै कुनै रन नबनाइ आउट भएपछि नेपाललाई सुरुमै झड्का लागेको थियो।

ओडिआई डेब्युमै ओपनिङ गरेका विनोद सातौँ ओभरमा ५ रन बनाएर आउट भएपछि नेपाल १६-२ को अवस्थामा थियो। विनोद आउट भएपछि चौथो नम्बरमा ब्याटिङ गरेका सोमपाल र कप्तान पारसले तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरे। जुन नेपाली इनिङ्सको सर्वाधिक साझेदारी बन्यो।

कप्तान पारस १२औँ ओभरमा आउटभएपछि क्रिजमा पुगेका दिपेन्द्र सिंह ऐरी खाता नखोल्दै त्यही ओभरमा आउट भए। दुई बल खेलेका दिपेन्द्र रनरआउट भएका हुन्। नियमित चौथो नम्बरमा ब्याटिङ गर्ने भएपनि युएईपनि विरुद्ध सोमपाल चौथो नम्वरमा ब्याटिङ गर्दा दिपेन्द्रले एक स्थान तल ब्याटिङ गरेका हुन्।

दिपेन्द्र आउट भएपछि सोमपालले सोमपालले पाँचौ विकेटका लागि आरिफ शेखसँग २४ रनको साझेदारी गरे। नेपालको इनिङ्समा सर्वाधिक ४७ बल खेलेका सोमपाल ३ चौकाको मद्दतमा ३० रन बनाएर आउट भएपछि नेपालको इनिङ्स धर्मराएको थियो। सोमपाल आउटभएपछि ब्याटिङ गरेका अर्का डेब्यु ब्वाए पवन सर्राफले सिनियर टिमको लागि पहिलो खेलमा ४ रन मात्र बनाए। करण केसी ३ र बसन्त रेग्मी ० मा आउट भएपछि नेपालको स्कोर २५.५ ओभरमा ८१-८ को स्थितीमा पुग्यो।

आरिफ र सन्दीप लामिछानेले नवौँ विकेटका लागि २५ रनको साझेदारी गरे। सन्दीप लामिछानले ३४औँ ओभरको पाँचौ बलमा आउट भएपछि नेपाल १६ ओभरअघि नै अलआउट भएको हो।

युएईका लागि कप्तान नाभिदले र आमिर हायतले ३-३ तथा इमरान हैदरले २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell