
काठमाडौं : नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको विधेयक संसदको बहुमतले पारित भएको हो।
शुक्रवार बसेको बैठकको सुरुमा कांग्रेस नेतृ पुष्पा भुषालले आफ्नो धारणा राखेसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर विरोधस्वरुप अगाडि आएर नाराबाजी गरेका थिए।
उनीहरुलाई मर्यादापालकहरुले घेरेर राखेका थिए। कांग्रेस सांसदहरुले नारावाजी गर्दै गर्दा सभामुख कृष्णबहादुर महराले संसदको कारवाही अगाडि बढाउन आफ्नो आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए।
उनले संसदीय सर्वोच्चता कायम गराउन पनि संसदीय प्रक्रिया मार्फत आफ्ना कुरा राख्न आग्रह गरेका छन्।
'माननीय सदस्यहरु तपाईँको विरोध पर्याप्त मात्रामा पुगेको छ। आफ्ना कुरा संसदीय प्रक्रियामा आएर राख्न अनुरोध गर्दछु,' उनले भनेका थिए।
उनले यस्तो भनिरहँदा सत्तारुढ दलका संसदहरुले समर्थन जनाउँदै टेवल ठोकेका थिए।
आफ्ना सांसदहरुले नारावाजी गरिरहँदा कांग्रेस सभापति देउवा छेउमा उभिएर हेरिरहेका थिए। सभामुखले कांग्रेसको विरोधका बाबजुद बैठकको कारवाही अगाडि बढाउँदै मन्त्री पोखरेललाई विधेयक पेश गर्न टेवल गर्न अनुमति दिए।
कांग्रेस सांसदले अगाडि बढ्न अवरोध गरेपछि सत्तापक्षका सांसद तर्फको बीचभागबाट मन्त्री पोखरेल मर्यादापालकको सहयोगमा ड्यासमा पुगेका थिए।
संसदको कारवाहीलाई अगाडि बढाउँदै सभामुख महराले विधेयकमाथि छलफलका लागि नाम टिपाउन सांसदहरुलाई आग्रह गरे। छलफलमा सहभागी हुन कुनै पनि सांसदले नाम नटिपाएपछि संसदीय उपसमितिको प्रतिवेदनलाई स्वीकार गर्दै विधेयकको अंग बनोस भन्ने प्रस्ताव पेस गरे।
उपसमितिको प्रतिवेदन विधेयकको अंगको रुपमा स्वीकार गरिएपछि सभामुख महराले विधेयकलाई निर्णयार्थ पेश गर्न मन्त्री पोखरेललाई अनुमति दिए। मन्त्री पोखरेलले पेश गरेको विधेयक बहुमतले पारित भयो।