काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास हुनुलाई क्रान्तिकारी फड्को भएको बताएका छन्।
संसदमा बोल्दै भट्टराईले भने, 'देशले क्रान्तिकारी फड्को मार्यो। सबैले खुशीयाली मनाउनुपर्छ।'
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कडा प्रतिरोधका वावजुद आज प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ। कांग्रेसले विरोध जनाइरहँदा सत्तारुढ दलले विधेयक पास गरेको हो।
भट्टराईले विधेयक पास भएको उत्साही हुनुपर्ने बताउँदै प्राध्यापक डाक्टर गोविन्द केसीका माग विधेयकले सम्बोधन गरेको दावीसमेत गरेका छन्।
'डाक्टर केसीले सत्याग्रह छोड्न पर्छ र आफ्नो कार्यक्षेत्रमा फर्किनुपर्छ,' सांसद भट्टराईले भने, 'अब अनशन बसिराख्नुको औचित्य छैन।'
उनले आजको संसदमा कार्यवाहक प्रधानमन्त्रीले नेपाली कांग्रेसले उठाएको विषयमा सम्बोधन गर्न चाहे पनि अवरोधका कारण नसकेको जानकारी गराए।