काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहे पनि प्रतिनिधि सभामा सभामुखले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको घोषणा शुक्रबार गरेपछि सांसद गगन थापाले आक्रोशित प्रतिक्रिया दिएका छन्।
उनले सभामुख कृष्णबहादुर महराले जालझेलपूर्ण व्यवहार गरेको आरोप लगाए। 'आज हामीलाई बैठकमा बोलाएर निकास निकाल्ने र मुठभेड हुन दिन्नँ भन्नुभएको थियो। तर आज सदनमा जालझेलपूर्ण हिसाबले विधेयक पारित गराउनु भयो', उनले भने, यस्तो जालझेल पनि सभामुखको आसनबाट गर्न मिल्छ?'
उनले सभामुखले सरकारको आदेशपालक जस्तो व्यवहार गरेको आरोप लगाए। सदनको नियम अनुसार सरकारी विधेयकमा शुक्रबार छलफल हुन दिन्नँ भन्नुपर्नेमा पारित गराएको भन्दै थापाले यो भन्दा ठूलो सभामुखको आसनबाट गरिने गलत र दुर्भाग्यपूर्ण व्यवहार नहुने बताए।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भने, यसबाट सरकारले देशैभरी सन्देश दिन खोजेको छ मसित दुई तिहाई छ मसित असहमति राख्ने कसैलाई पनि गन्दिनँ।
उनले थपे, सरकारले निषेधको राजनीति प्रारम्भ गरेको छ।
उनले सरकारको भनाई अनुसार ५ प्रतिशत माग पूरा भएको छैन। यो ५ प्रतिशतका लागि सरकार गोविन्द केसी मरे मरोस् भन्ने छ,
प्रतिपक्षीसँग लड्न तयार छ ।
उनले सोधे, सरकार शक्तिशाली हो कि सरकारलाई चलाउने व्यापारी शक्तिशाली हो? यो प्रश्नको उत्तर सरकारले दिनुपर्छ।
यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सदन र सडकमा कांग्रेसले विरोध जारी राख्ने प्रतिक्रिया दिएका छन्।