
काठमाडौं : संसदको तेस्रो ठूलो तथा सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले प्रतिनिधिसभामा आज देखिएको दृष्य कुनै नौलो नभएको प्रतिक्रिया दिएका छन्।
राजपा अध्यक्ष मण्डलका सदस्य महतोले यिनै दलहरुले नै यस्तो प्रक्रिया बसाएको आरोप लगाएका छन्।
‘आजको संसदमा जे भयो त्यो ठीक छैन। तर, यो पहिलो पटक भएको होइन। कहिले कांग्रेस त कहिले कम्युनिष्टले गर्दै आएको हो,’ उनले भने।
पहिलोपोस्टसँग महतोले भने, ‘यो आश्चर्यको विषय होइन। यो यिनीहरुले सुरु गरेको हो। आज यिनीहरुमाथि नै पर्यो। कांग्रेस आफूलाई पर्दा अधिनायकवाद तर आफूले गर्दा लोकतन्त्र रे?’
यसअघि कांग्रेसले पनि पेलेर गएको बताउँदै महतोले भने, ‘हामीलाई पेलेर यिनीहरुले नै जर्वजस्ती संविधान जारी गरे। संविधान जारी गर्दा त प्रक्रिया पनि मिचियो। छलफल पनि भएन। असन्तुष्टलाई मनाउने प्रयास पनि भएन। गर्ने यिनीहरु नै थिए।’
दुवै दलले संसदको मर्यादा विपरीत काम गर्दै आएको बताउँदै महतोले भने, ‘आज यिनीहरुलाई नै परेको छ। अब विचार गरोस् संसदमा पेलेर–प्रक्रिया मिचेर गए के हुन्छ?’