PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

नेपाली कांग्रेसको ७ बुँदे विश्लेषण : सरकारको अधिनायकवादी आकांक्षाको खुलासा



पहिलोपोस्ट

 नेपाली कांग्रेसको ७ बुँदे विश्लेषण : सरकारको अधिनायकवादी आकांक्षाको खुलासा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदमा भएको घटनालाई 'अधिनायकवादी आकांक्षाको' खुलासा भएको जनाएको छ। आजको घटनालाई लिएर कांग्रेसले सात बुँदे धारणा सार्वजनिक गरेको छ। जसको पहिलो बुँदामा नै भनिएको छ - 'सरकार र यसको नेतृत्वले आफूभित्र जतनले राखेको अधिनायकवादी आकांक्षालाई आजको घटनाले खुला उजागर गरेको छ।'

विपक्षी रहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति सत्तारुढ दलको निष्ठा पुष्टि भएको आरोपसमेत कांग्रेसले लगाएको छ। सभामुखको भूमिकामाथि पनि कांग्रेसले औलो ठड्याएको छ।  

'सिंगो सदनको साझा नेताको भूमिकाबाट सभामुखले स्वेच्छिक अवकाश लिएको सन्देश गएको छ,' कांग्रेसले जारी गरेको तेस्रो बुँदामा भनिएको छ।

कांग्रेसले प्रधानमन्त्री स्वयंको अग्रसरतामा डाक्टर गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नगर्न  प्रधानमन्त्री, सरकार, नेकपा र सभामुख समेतको संगठित प्रयत्नको परिणाम आजको अवस्था आएको उल्लेख गरेको छ। यसले प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा गम्भीर ढंगले ह्रास आएको कांग्रेसको विश्लेषण छ। 

एकातर्फ शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी भनेर चुनावी घोषणापत्रमा लेख्ने तथा अर्कातर्फ आफूसँगको बहुमतलाई निश्चित वर्गको हित पक्षपोषणमा अर्पित गरेर सरकारले मत दिने सामान्य नागरिकको भावनामा स्वयं कुठाराघात गरेको समेत कांग्रेसको विश्लेषण छ। 

बहुमतको अर्थ विवेकको निलम्वन नभएको उल्लेख गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विश्लेषणमा डाक्टर गोविन्द केसीको मागमा विगतमा आफै सहमति गर्ने, तोड्ने र अनशनको सत्र दिन पुग्दा सम्म संवादको पहल नगरी ‘मरे हुन्छ’ भन्ने निलम्बित विवेकको सन्देश सरकारले प्रवाह गरेको उल्लेख छ। 

त्यसैगरी, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल नामेट गर्ने दुष्प्रयास अघि बढाएर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको कांग्रेसले जनाएको छ। 

सात बुँदे विश्लेषणसँगै कांग्रेसले यो मुद्दामा सरोकार राख्ने सबैलाई आवश्यक विमति खुला ढंगले प्रकट गर्न अपील गरेको छ। 'नेपाली कांग्रेस चाँडै नै यस बारेमा राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाउ दिन चाहन्छ,' शर्माले जारी गरेको नोटमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell