PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

वीर्य नदीको स्‍नान (कविता)



भावना शर्मा

वीर्य नदीको स्‍नान (कविता)

भावना शर्मा -

म सानो छँदाको कुरा 
यस्तै चिसो याममा
हजुरआमाहरु हुल बाँधेर नारायणी जान्थे
हुल बाँधेरै आमाहरु देवघाट जान्थे
मेरी हजुरआमा मलाई पनि लान्थिन् 
चोबलेर निकाल्थिन् चिसो पानीमा
बगरमा बालुवाको ढिस्को बनाउँदै बाल्न लाउँथिन् दियो
'यहाँ निधार टेके भाग्य बलियो हुन्छ!'
मैले सयौं पटक त्यस्तै गरेकी छु
हजुरआमाले भने झैं 
त्यो ढिस्को पूजेर भाग्य बलियो (?) बनाएकी छु 
नजाने कति पटक ढोगें 
गरिरहें उसै उसै
जसो जसो गर्थे मेरा हजुरआमाहरु!

***

आज पनि उस्तै चिसा याम आउँछन्
हुल बाँधेर जान्छन् आमाहरु नदीमा
बालुवाको ढिस्को उसैगरी पूज्छन् 
उसैगरी दियो बाल्छन् विश्वासको 
'यहाँ निधार टेके भाग्य बलियो हुन्छ!'

***

बिहानै स्कुल जान ठेलमठेल बसमा चढ्छन् साना नानीहरु

एउटा लिंगधारी घिनलाग्दो पाराले दलिन्छ तिनका ढाडमा
झोलाले छेक्दा छेक्दै पनि निमोठिन्छन् तिनका कलिला छाती 
साँझ घर फर्कदा गल्लीमा लुकेर अर्को लिंगधारीले
तिनका टाउकामा वीर्यको पिचकारी छ्याप्दा
आमा के उसैगरी बल्छन् 
नदी किनारको शिवलिंगमा विश्वासको दियो?
के उसैगरी अडिन्छ तिम्रो शिर बालुवाको त्यो ढिस्कोमा?

***

यतिबेला 
मेरी छोरी किनारमा छे
बगिरहेछ वीर्य नदी
नहेलियून् यहाँ साना नानीहरु 
नपरोस् छिटा ती पवित्र तनमा
वालुवाको उस्तै ढिस्कोमा उसले ड्याम्मऽऽऽ लात हानी 
स्याबास छोरी!
'यसलाई भत्काए मात्र  भाग्य बलियो हुन्छ!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell