PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

नेपाली महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान



पहिलोपोस्ट

नेपाली महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

काठमाडौँ : पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ।
विश्वकै नेत्रहीन महिला क्रिकेट टिम बनाउने पहिलो देशको रुपमा रहेको नेपाल पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा ५ खेलको सिरिज खेल्न पाकिस्तान लागेको हो।


भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा कूल १५ खेलाडी छन्। यस्तै प्रशिक्षकमा रिजन प्रजु छन्।


टी-२० फर्म्याटमा खेलाइने सिरिजका खेलहरु पाकिस्तानको तीन फरक शहरमा हुनेछ।


पहिलो खेल माघ १५ गते लाहोरमा हुनेछ। यस्तै दोस्रो खेल १७ गते र तेस्रो खेल १८ गते फैसलाबादमा हुनेछ। चौथो खेल माघ २० गते र पाँचौ खेल माघ २१ गते इस्लामावादमा हुनेछ।


नेपालले सन् २०१४ मा घरेलु मैदानमा बेलायतको महिला टोलीलाई बोलाएर ३ खेलको सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले ३-० ले जितेको थियो।


यस पटक पनि नेपाली महिला नेत्रहीन क्रिकेट टोलीको लक्ष्य सिरिज जित्ने रहेको कप्तान भगवती र प्रशिक्षक रिजनले बताएका छन्।


सिरिजका लागि नेपालले करिब ३ साता तयारी गरेको थियो। पहिलो पटक विदेशमा सिरिज खेल्न जाँदा नेपाली नेत्रहीन महिला क्रिकेटरहरु उत्साहित छन्। उनीहरु पाकिस्तानलाई उसैको मैदानमा पराजित गर्दै नेत्रहीनहरुले पनि अवसर पाए आफूलाई प्रमाणित गरेर देखाउन सक्छन्न भन्ने उदाहरण दिन तयार छन्।


नेत्रहीन क्रिकेटमा बी वान, बी टु र बी थ्री गरी तीन प्रकारका खेलाडी हुन्छन्। २० ओभरको खेलमा एक टिमबाट ८ ओभर अनीवार्य बी वान क्याटेगोरीका खेलाडीले बलिङ गर्नुपर्छ। बी वान क्याटेगोरीका खेलाडी पुरै आँखा नदेख्ने हुन्छन् भने बी टु ले ५ मिटर र बी थ्री ले १० मिटरसम्म देख्न सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell