ललितपुर महानगरपालिका वडा नम्बर ८, गुइत: (गुइ टोल) स्थित एक ढुंगेधारामा ११ वर्षीया पूर्णिमा घलान र निरुता शाह पानी भर्दै थिए। ढुंगेधारामा पानी नआएको वर्षौं भइसक्दा पनि दुईवटा जर्किन र प्लास्टिकको जग बोकेर उनीहरु पानी भर्न आएका थिए।
पूरै जीर्ण अवस्थामा रहेको ढुंगेधाराबाट पानी आउने स्थानमा भने सिमेन्टले फलामको पाइप अड्काइएको छ। पाइप पनि खियाले बिग्रिसकेको छ। ढुंगेधाराबाट पानी आउने कुरै भएन।
ढुंगेधाराबाट पानी नआएपछि उनीहरु धारा मुनि र दायाँ भागमा रहेको खाल्डोमा जम्मा भइरहेको पानी जर्किनमा भर्दै थिए। हामी बसुन्जेल उनीहरु ४-५ पटक ढुंगेधारको भर्याङ ओर्लँदै, उक्लँदै पानी भर्दै घर पुर्याउँदै थिए।
गुइ टोलमा उनीहरु बहालमा बस्ने घरमा पानी नआएको वर्षौं भयो। त्यसैले विदाको समय भएकाले त्यहाँ आएर पानी लिन आउने गरेको उनीहरु बताउँछन्।
तर, न त त्यो पानी पिउन लायक छ न त अरु कुनै प्रयोजनका लागि प्रयोग गर्न मिल्ने नै।
लेउ नै लेउले भरिएको खाल्डोको पानी के को लागि प्रयोग गर्ने भन्ने प्रश्नमा दुवै जनाको उत्तर एउटै:
'पिउनका लागि होइन, लुगा धुन हो। खान त किनेर खाने हो'
गुइ टोलमा घर भएका र बहालमा रहेका धेरै जसोको दैनिकी पानी जोहो गर्दैमा बित्ने स्थानीय बताउँछन्।
घलान भन्छिन्, 'बिहान इनारबाट, दिउँसो यहाँबाट पानी लिएर कोठाको ट्याङकी भर्छौं।'
***
पूर्णिमा र निरुता ढुंगेधाराका खाल्डोबाट पानी भर्दै गर्दा नजिकै रहेको गुइत: पुखुसँगै रहेको दुईवटा पानी ट्याङ्कीमा लगाइएको ताल्चा मिलाउन व्यस्त थिए स्थानीय बहादुर महर्जन।
उनको काम भने पानी ट्याङकीबाट पानी लिन आउनेहरुको नाम र उनीहरुले लगेको पानीको लेखाजोखा राख्नु हो।
'९ वटा इनार, ९ वटा ढुंगेधारा छ यहाँ। युवा हुँदासम्म यहीको पानीले पुग्थ्यो। कर्म हेर्नुस् अहिले गोदावरीबाट पानी ल्याएर बेच्नु परेको छ,' उनले भने।
वर्षौंदेखि टोलमा पानी नआएका कारण स्थानीयहरु मिलेर ट्याङकीको व्यवस्था गरेको बताउँछन् उनी। 'गोदावरीबाट तीन-चार दिनमा ट्याङकर ल्याएर पानी भर्छौं। दुई ट्याङकीको सात-आठ हजार पर्छ,' उनले सुनाए।
स्थानीय गुइत: युवा कमिटीको सक्रियतामा पानीको वितरण हुने गरेको छ। पानी भर्न कोटा प्रणाली लागू गरिएको भने छैन। पानी लिन आउनेहरुसँग एक गाग्रीको ६ रुपैया र जारको १० रुपैया उठाउने गरिएको छ। सक्नेहरुले त आफै ट्याङ्की बोलाएर पानी किनेर प्रयोग गरिरहेका छन्। पिउने पानीका लागि बाँकीको सहारा त्यही दुई ट्याङकी रहेको छ। बाहिर एक जारको ५० रुपैया पर्ने भएकाले पिउने पानीका लागि ट्याङ्की धाउनु उनीहरुको बाध्यता नै हो।
अन्य प्रयोजनका लागि पानीको व्यवस्था गर्न भने युवा कमिटीकै सक्रियतामा पोखरी नजिकै 'डिप बोरिङ' गरिएको उनले बताए। बोरिङ गरिएको पानी पाइपलाइनबाट टोलका घरघरमा वितरण गरिएको छ। त्यहाँ बोरिङबाट निकालिएको पानी अन्य टोलहरुमा समेत वितरण गरिँदै आएको छ।
***
ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले गुइ टोलमा मात्रै नभइ महानगरका थुप्रै स्थानमा पानीको अभाव रहेको स्वीकारे।
उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लापरवाहीले पानीको समस्या भएको बताउँछन्।
वर्षौंदेखि धारामा पानी नआएको भन्दै महर्जन भन्छन्, 'पहिला टोलका मानिसहरु मिलेर खानेपानी विभागमा गएर कराउँथे। त्यसपछि एक दिन पानी आउँथ्यो। फेरि आउँदैन थियो। अहिले वडामा आएर गुनासो गर्छन्।'
उनका अनुसार सबै वडाहरुमा त्यही समस्या भएपछि वडा अध्यक्षहरु मिलेर खानेपानी विभाग गएर नकराएको पनि होइन तर धाराबाट पानी आएन।
वडा नम्बर ९ का वडा अध्यक्ष समेत रहेका महर्जनले भने, 'मेरो आफ्नै वडाका कति ठाउँमा पानी नआएको १०-१२ वर्ष भइसक्यो। च्यासलबाट डिप बोरिङ गरेर पानीको व्यवस्था टोलवासीहरु आफैले गरिहेका छन्। तर, त्यो पानी पिउन योग्य भने छैन।'
पिउनका लागि जार र ट्याङकरको पानीमा नै निर्भर हुने परेको र गुइ टोलमा बोरिङ गरेर निकालिएको पानी समेत आफ्नो वडामा प्रयोग भइरहेको उनले बताए।
महर्जन पानीको समस्याको समाधान डिप बोरिङ मार्फत वितरण भइरहेको पानी नरहेको बताउँदै भन्छन्, 'यो नै विकल्प होइन। हाम्रो आशा भनेको मेलम्ची नै हो।'
मेलम्ची नआउन्जेल पानीको व्यवस्था गर्न महानगरले प्रयास गरिरहेको उनको दाबी थियो। तर, महानगरले सरकारी कागजमा मात्रै काम सीमित गरेको र आफूहरुको लागि केही नगरेको गुनासो गर्छन् स्थानीयहरु।
'बोरिङ टोलवासी कै पैसा जम्मा गरेर गर्नुपरेको छ। वडामा गयो माथिबाटै पानी नपठाएको। हामी केही गर्न सक्दैनौं भन्छन्,' पोखरी छेउमै रहेको वडा नम्बर ८ को कार्यालय रहेको भवन नजिकै भेटिएका आशाकाजी महर्जनले बताए।
'ढुंगेधाराका साथै राणा शासनका समयमा पाइपबाट ल्याइएको चन्द्र लोक धाराबाट आएको पानीले समेत टोलमा कहिल्यै पानीको अभाव भएन,' टयाङ्की पछाडि रहेको फलामे चन्द्र लोक धारा देखाउँदै उनले भने।
भारतको कलकत्तामा बनेको हो यो धारा। फलामे चन्द्र धाराका बारे उनी भन्छन्, 'यो चन्द्र धारा बनाउँदा नि कति मूलहरु फुटेका थिए भनिन्छ। तर, त्यसले पानीको अभाव हुन दिएन। राणा शासन ढल्यो, अहिले त्यो धाराहरुले हामीले गिज्याइरहेको जस्तो लाग्छ।'
स्थानीयहरुका अनुसार पहिला ट्याङकीबाट वितरण हुने पानीको मूल्य एक गाग्रीको ५ रुपैयाबाट अहिले ६ पुगेको छ। टोलका सबैको घरमा खानेपानीको धारा जडान गरिएको छ। तर, धाराबाट पानी नआएको करिब एक दशक भइसक्यो तर बिल भने आइरहन्छ। टोलका धेरैले धाराको पैसा तिरेका छैनन्। भन्छन्, 'हजारौं रुपैयाको बिल छ, पानी आए पो तिर्नु।'
पहिला नि:शुल्क पानी वितरणमा लागि बनाइएका ढुंगेधाराहरु सुख्खा हुँदा अहिले पैसा तिरेर पनि घरमा पानीको अभाव भएकाले आफूले हाल पुर्खाले बनाएको पोखरी र ढुंगेधाराको महत्व बुझेको बताउँछन् आशाकाजी।
मेलम्चीको लागि गरेको केही खर्च मात्रै यही ढुंगेधारा संरक्षण गर्न लगाएको भए पानीको अभाव यति विकराल अवस्था सिर्जना नहुने तर्फ सरकार र जनताको ध्यान नगएको उनको गुनासो थियो।
स्थानीय सरकारले ढुंगे धाराहरुमा पानी ब्युताउँने निर्णय नगरेको पनि होइन। तर, आशाकाजी त्यो निणर्य कार्यान्वयन हुने कुरामा आशावादी छैनन्। भन्छन्, 'घरको धारामा पानी दिन नसक्नेले ढुंगेधारामा पानी ल्याउँछु भन्नु त्यो बेला घरघरमा ग्यासको पाइपलाइन ल्याउँछु भन्या जस्तो हो।'
त्यसैले स्थानीयहरुको गनासोको बारे हामीले गुइत: रहेको वडा नम्बर ८ का अध्यक्ष हेम महर्जनसँग पानीको समस्या बारे प्रश्न गर्यौं।
उनले ढुंगेधारामा पानी आउने स्रोत नभेटिएको र निकासका लागि समस्या भएकोले त्यसमा पानी ल्याउन समय लाग्ने बताए। अध्यक्ष हेमले पानीको समस्या गुइ टोलको मात्रै नभएर पुरै उपत्यकाको हो भन्दै प्रवक्ता महर्जनैकै भाषा दोहोर्याए।
भने, ' अहिले उपल्ब्ध स्रोतबाटै पानी चलाउनुको विकल्प छैन। मेलम्ची कुरौं। सबै ठीक होला।'