PahiloPost

Oct 22, 2019 | ५ कात्तिक २०७६


निर्मला प्रकरण: राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस त्रुटिपूर्ण कि प्रहरीको ल्याबको रिपोर्ट?



पहिलोपोस्ट

निर्मला प्रकरण: राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस त्रुटिपूर्ण कि प्रहरीको ल्याबको रिपोर्ट?

  • उमेश श्रेष्ठ/सविन ढकाल-

काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विज्ञहरु सहितको टोलीले अनुसन्धान गरी दिएको प्रतिवेदनमा डिएनए संकलन र परीक्षण प्रक्रियामै प्रश्न उठाउँदै त्यसमा संलग्न प्राविधिकहरुलाई समेत आवश्यक छानबिनको दायरामा ल्याउन सिफारिस गरेको छ।

आयोगले सरकारलाई दिएको चार बुँदे सिफारिसको दोस्रो बुँदामा 'प्राप्त डिएनएको अटोजोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै पनि सो नगरी Y-STR प्रविधिबाट मात्र परीक्षण गरिएको पाइएको हुँदा यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकहरुलाई आवश्यक छानबिनको दायरामा ल्याउन' भनिएको छ।

तर, पहिलोपोस्टलाई प्राप्त नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको ०७५/०७६-सिपिइएसआई-४०२-(डि)डिएनए-१० को 'एनेक्सचर ए'मा रहेको टेबलमा निर्मलाको भेजिनल स्वाबबाट संकलित तीनवटै नमूनाबाट अटोजोमल एसटिआर निकालिएको उल्लेख छ।

भेजिनल स्वाबबाट मात्र नभई निर्मलाको रगतको नमूनाबाट समेत अटोजोमल एसटिआर समेत परीक्षण भदौ २४ गते नै गरेर रिपोर्ट दिइसकेको उल्लेख छ। यो खबर पहिलोपोस्टले माघ ६ गते सार्वजनिक गरेको थियो।

पढ्नुस्ः प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन (#WhoKilledNirmala शृङ्खला १९)

निर्मलाको भेजिनल स्वाबबाट नै Y-STR निकालिएको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको रिपोर्ट पनि भदौ २४ गते नै निकालिएको उल्लेख छ।

पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको अनुसन्धान समितिमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा एवं आयोगका अधिकृत सम्मिलित थिए।

आयोगको अनुसन्धान समितिको प्रतिवेदनले प्रहरीको अनुसन्धानका कमजोरीका अतिरिक्त डिएनए परीक्षणको विषय पनि उठाएको छ।

प्रतिवेदनको तथ्य, विश्लेषण तथा निश्कर्ष सार्वजनिक गरिएको विज्ञप्तिको 'डिएनए सम्बन्धमा' लेखिएको छ- "मृतक निर्मला पन्तको शरीरबाट डिएनए परीक्षणका लागि भेजिनल स्वाब लगायतका नमूनाहरु संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमूना संकलन गरिएको पाइयो। यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भनी भन्न नसकिने।"

जबकि विज्ञहरुका अनुसार भेजिनल स्वाबको नमूना संकलन गर्ने नै कटन बड (सिन्कोमा बेरिएको कपास) बाटै हो।

डिएनए एक्सपर्ट डाक्टर डान क्रेनले पहिलोपोस्टसितको इमेल कुराकानीमा भेजिनल स्वाब कटन बडबाट नै संकलन गरिने बताए।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक फरेन्सिक एक्सपर्ट जीवन रिजाल कटन बडबाट स्वाब निकाल्नुलाई त्रुटि नै भन्न नमिल्ने बताउँछन्। रिजाल भन्छन्,’ पहिलेदेखि नै यसरी नै स्वाब निकालिँदै आएको हो। विदेशमा नयाँ तरिका अपनाइएका पनि छन्। तर यसलाई गलत नै भन्न मिल्दैन।‘

यसैगरी प्रतिवेदनमा "यसरी संकलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही नआउने जस्ता समस्या रहेको पाइयो। मूलतः नमूनाहरु संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो।"

जबकि ल्याबको प्रतिवेदन अनुसार डिएनएबाट Y-STR र अटोजोमल प्रोफाइलिङ पनि पर्याप्त आउने गरी भइसकेको छ।

ल्याबका एक प्राविधिक भन्छन्- 'आयोगले औँल्याएका डिएनए संकलन नहुने, डिएनए ह्रास हुने र नष्ट हुनसक्ने भन्ने सम्भावनाका कुराहरु हुन्। रिपोर्टमा त दुवै प्रविधिबाट डिएनए प्रोफाइलिङ भइसकेको छ।'

 

अटोजोमल प्रोफाइलिङ त्रुटिपूर्ण?

राष्ट्रिय मानव अधिकार आयोगको विज्ञ टोलीसित समेत लुकाइएको अटोजोमल प्रोफाइलिङ के त्रुटिपूर्ण थियो त?

किनभने भेजिनल स्वाबको परीक्षण गर्दा वाई एसटिआर परीक्षणमा पुरुषको डिएनए भेटिएको छ तर अटोजोमल परीक्षण गर्दा भने पुरुष डिएनए भेटिएको छैन।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक फरेन्सिक एक्सपर्ट जीवन रिजालले भने, ‘वाई एसटिआरमा पुरुषको डिएनए भेटिनुको मतलब 'मेल कन्ट्रिब्युटर' छ भन्ने हो। यदि वाई एसटिआर भेटिन्छ भने त्यो पुरुषको एक्स पनि पक्कै हुन्छ र त्यो अटोजोमल एसटिआरमा देखिनै पर्छ।'

फरेन्सिक एक्सपर्ट रिजालका अनुसार परीक्षण गरिएका १६ वटा जेनेटिक लोकस/मार्कर मध्ये बलात्कार भएको अवस्थामा कुनैमा ३ वा कुनैमा ४ अंक देखिनुपर्ने हो। यसले दुई जनाको मिक्स अप भएको देखाउँछ। अर्थात्, पुरुषको पनि डिएनए त्यसमा छ भन्ने देखिनुपर्ने हो।

तर, अटोजोमल एसटिआर प्रोफाइलमा एउटा पनि जेनेटिक लोकस/मार्कर दुई भन्दा बढी देखिएको छैन। अर्थात्, त्यसमा निर्मलाको मात्रै डिएनए भेटिएको छ।

‘यो केसमा अटोजोमल एसटिआरमा पनि मिक्स्चर हुनै पर्छ। अपराधीको पनि डिएनए देखिने गरी मिक्स्चर देखाउनै पर्छ,’ रिजाल बताउँछन्।

प्रहरीको ल्याबमा अनुभवी एक्सपर्टको कमी भएका कारण पनि यो नदेखिएको हुनसक्ने शंका गर्दै रिजाल भन्छन्, ‘अझै पनि इलेक्ट्रोफेरोग्रामको चार्टलाई माइन्युटली अध्ययन गर्नुपर्छ, पुरुष डिएनए देख्न सकिन्छ।'

उनी भन्छन्, ‘पुरुष डिएनए किन देखिएन, यसको विश्लेषण गर्न जरुरी छ।'

नेपल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रमुख डाक्टर एसपी राकेशसिंह डिएनए परीक्षणमा कुनै त्रुटि नभएको दावी गर्छन। पुरुषको अटोजोमल प्रोफाइलिङ गर्न नसकिने भएकाले नगरिएको उनको भनाई छ। एसपी सिंहले भने, 'हामीले अटोजोमल एसटिआर गर्न खोजेका हौं तर अनुपात कम भएकाले गर्न सकिएन।‘

डिएनए परीक्षणको विधिमा नै शंका उब्जिएको अवस्थामा अब यो शंका हटाउने उपाय के छ त?

मानवअधिकार आयोगको प्रतिवेदनले प्रहरीको ल्याबमा त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकहरुलाई आवश्यक छानबिनको दायरामा ल्याउन सिफारिश गरेको छ।

यसअघि घटनाको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई मात्र छानबिन र निलम्बन गरिएकोमा प्राविधिकहरुलाई पनि छानबिन गर्न पहिलोपटक सिफारिस भएको हो।

सिफारिसमा डिएनएमा मात्रै भर नपर्न भन्दै लेखिएको छ- पृथकीकरण गरिएका डिएनए नरहेको, संकलित स्वाब बाँकी रहे पनि पुरुष डिएनए अत्यन्तै न्यून रहेको, लामो समयसम्म भेजिनल स्वाब यथास्थितिमा रहन नसक्नु जस्ता आधारमा बाँकी भेजिनल स्वाबबाट थप नतिजामूलक परीक्षणको सम्भावना अत्याधिक कम रहेको पाइँदा अब यसैमा मात्र भर नपरी 'ह्युमन इन्टेलिजेन्स'को माध्यमद्वारा प्रभावकारी र नतिजामूलक अनुसन्धान जारी राख्न।'

रिजाल भने डिएनएको विषयमा उठेको शंकालाई पहिले निवारण गर्नुपर्ने सुझाउँछन्। उनी भन्छन्, ‘अब यो एक दुई जनाले मुखले भनेर हुने कुरा हैन। यसका लागि एक्सपर्टहरुको टिम नै गठन गरिनु पर्छ।'

उनी इलेक्ट्रोफेरोग्राम चार्ट बन्नुभन्दा अघिका डाटा निकालेर विश्वका टप डिएनए एक्सपर्टहरुलाई विश्लेषणका लागि पठाउन सकिने बताउँछन्।

रिजाल भन्छन्, ‘यो गाह्रो कुरा हैन। इच्छाशक्ति भए सम्भव छ। र, डाटाहरुलाई मेलबाट पठाउन र एक्सपर्टहरुको राय बुझ्न सकिन्छ।'

र, डाटाहरु बिगार्न नसकिने भएकोले डिएनएबारे उब्जिएका शंका यसरी निवारण गर्न सकिने उनको राय छ।

मानवअधिकार आयोगको यो प्रतिवेदनपछि निर्मला प्रकरणमा दुई वटा महत्त्वपूर्ण मोड आएको छ।

एक, अब डिएनएको परीक्षणमा संलग्न प्राविधिक प्रहरी अधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउनु पर्छ।

दुई, अब डिएनएमा मात्र भर नपरी नपरी 'ह्युमन इन्टेलिजेन्स'को माध्यमद्वारा प्रभावकारी र नतिजामूलक अनुसन्धान जारी राख्नुपर्छ।

 

विष्ट र रावल फेरि शंकाको घेरामा?

त्यसो भए अघिल्ला अनुसन्धानहरुले शंकाको घेरामा राखेका दीलिपसिंह विष्ट र प्रदीप रावल फेरि शंकाको घेरामा पर्ने सम्भावना छ त?

सिआईबीको अघिल्लो अनुसन्धान टोलीले दीलिपसिंह विष्टलाई विभिन्न परिस्थितिजन्य कारणहरुको आधारमा शंकाको घेरामा राख्दै अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो। रावललाई पछिल्लो अनुसन्धान टोलीले शंकाको घेरामा राखी अनुसन्धान गरेको थियो।

दुवैविरुद्ध केही ठोस प्रमाण फेला परेका थिएनन्। यद्यपि, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं रावलसित बयान लिने काममा जुटेका थिए। आयोगले रावललाई एउटा मुद्दाका नाममा पक्राउ गरी अर्को मुद्दामा अनुसन्धान गर्न नहुने स्वच्छ सिद्धान्तको पालना नभएको तर्फ पनि सचेत गराएको छ। 

विष्ट र रावल दुवै डिएनए नमिलेपछि छुटेका थिए। तर, अहिले डिएनए शतप्रतिशत मिलेमा समेत उही अपराधी हो भनी किटान गर्न नसकिने प्रतिवेदन आयोगले पनि दिएको छ।

विष्ट र रावलमध्ये को प्रति बढी शंका गर्न सकिन्छ त? स्थानीय बासिन्दाले दोषी मान्न तयार नभएका दीलिप सिंह विष्टलाई प्रहरीले के आधारमा पक्राउ गरी अभियुक्तका रुपमा खडा गरेको थियो त? यसबारे विस्तृत पहिलोपोस्टको अर्को शृङ्खलामा।

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?



निर्मला प्रकरण: राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस त्रुटिपूर्ण कि प्रहरीको ल्याबको रिपोर्ट? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell