PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कांग्रेसको नाराबाजीकै बीच राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक टेबुल



बीपी साह

कांग्रेसको नाराबाजीकै बीच राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक टेबुल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेबुल भएको छ। 

राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ टेबुल गरेका हुन्।

आजको पहिलो बैठकमा कांग्रेसले दुईवटा अस्पताललाई केन्द्रमा नराखेको, संवैधानिक आयोगका अध्यक्षहरुको सिफारिस र प्रतिनिधि सभामा बल प्रयोग भएको भन्दै विरोध जनाएको थियो।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

दोस्रो बैठक सुरु हुनासाथ पुनः कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए। तर, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कारवाही अगाडि बढाए पछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए।

तर, व्यापकरुपमा मर्यादापालक परिचालन गरेपछि कांग्रेस सांसदहरु नाराबाजी मै सीमित भए। करिब ६० भन्दा बढी मर्यादा पालक परिचालन गरिएका थिए।

दोस्रो बैठकको कार्यसूचीबाट २ देखि ५ सम्मको बुँदा हटाइएको थियो। चिकित्सा शिक्षा विधेयक टेबुल भएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाले ६० दिनभित्र पारित गर्नुपर्ने वा संशोधनसहित प्रतिनिधि सभामा फिर्ता गर्नुपर्ने प्रावधान छ। 

राष्ट्रिय सभा नियमावलीको नियम १२४ अनुसार प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा आएका विधेयकको प्रक्रिया यस्तो हुन्छ-


•    प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएपछि सचिवले सभामा टेबुल गर्नेछ र त्यसको एक-एक प्रति प्रत्येक सदस्यलाई वितरण गरिनेछ।


•    विधेयकसहितको सन्देशका प्रतिहरु वितरण भएको दुई दिनपछि प्रस्तुतकर्ता सदस्यले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछ। तर अध्यक्षले उपयुक्त सम्झेमा विधेयकसहितको सन्देशका प्रतिहरु वितरण भएपछि कुनै पनि बैठकमा त्यस्तो प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन सक्नेछ ।

•    तर यस्तो प्रस्तावमा छलफल गर्दा विधेयकको विषय र त्यसमा निहित सिद्धान्तमा सामान्य छलफल गर्नमात्र नियमावलीमा व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ- त्यस्तो छलफलमा विधेयकका सिद्धान्तलाई स्पष्ट गर्न आवश्यक भएमा बाहेक दफाहरुमाथि छलफल गरिने छैन।‘


•    यस्तो विधेयक राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट आएको दुई महिनाभित्र राष्ट्रिय सभाले कि पारित गर्नुपर्नेछ, कि संशोधनसहित प्रतिनिधि सभामा फिर्ता पठाउन सक्नेछ। 

सम्बन्धित समाचार

चिकित्सा शिक्षा विधेयक : के हुनसक्ला 'फेस सेभिङ'को विकल्प - राष्ट्रिय सभामा संशोधन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell