लाहोर (पाकिस्तान) : पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट श्रृखंला २०१९ को ट्रफी सार्वजनिक भएको छ।
नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीले खेल्ने उक्त सिरिजमा कूल ५ खेल हुनेछ।
सोमवार लाहोरमा एक विशेष कार्यक्रममा दुई देशका कप्तानले ट्रफी अनावरण गरेका हुन्।
नेपाली महिला नेत्रहीन क्रिकेट टिमकी कप्तान भगवती बराल भट्टराई र पाकिस्तान महिला क्रिकेट टिमकी कप्तान रविअ शाहजदीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए। यस्तै पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिल (पिबिसीसी) का अध्यक्ष साइद सुल्तान शाह पनि समारोहमा उपस्थित थिए।
पिबिसीसीका अध्यक्ष सुल्तानले महिला नेत्रहीन क्रिकेटले अब गति लिएको र कसैले रोक्न नसक्ने बताए। उनले महिला नेत्रहीन क्रिकेटको सुरुवात गर्ने देश नेपाललाई बोलाएर पाकिस्तानबाट महिला नेत्रहीन सिरिज सुरु गर्न पाउँदा एकदमै खुशी लागेको बताए।
यस्तै क्रिकेट एसोसिएसन अफ ब्लाइण्ड नेपालका अध्यक्ष पवन घिमिरेले नेपाल र पाकिस्तानबीच महिला नेत्रहिन क्रिकेट सुरुवात हुने खबरपछि विश्वका अन्य राष्ट्रहरुले समेत महिला नेत्रहीन क्रिकेट टोली बनाउन सुरु गरेको र अब यो संसारभर फैलने बताए।
विश्वमै महिला नेत्रहिन क्रिकेट टिम बनाउने पहिलो देश बनेको नेपाल पिबिसीसीको निमन्त्रमा सिरिज खेल्न पाकिस्तान आइतवार पाकिस्तानको लाहोर आइपुगेको थियो।
सिरिजअन्तर्गत पहिलो खेल बुधवार लाहोरमा हुँदैछ। टि-२० फर्म्याटमा हुने खेलका लागि दुवै टोली उत्साहित छन् र मैदानमा भिड्नका लागि तयार छन्। नेपालले सोमवार र मंगलवाल एक-एक घण्टा प्रशिक्षण गरेको थियो।
सोमवारको मिडिया टकमा दुवै देशका कप्तानले तयारि पूरा भएको र एक-आपसमा खेल्न उत्साहित रहेको बताइसकेको छ।
पहिलो पटक विदेश भ्रमणमा आएको नेपालको महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तानसँग उसैको घरेलु भूमिममा खेल्न पाउँदा अझ उत्साहित छ।
'हामी नडराई खेल्छौँ र पाकिस्तानलाई उनीहरुको घरमै पराजित गर्न चाहन्छु।' सबैको एउटै स्वर छ।