PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दुईवटा जहाज नहुँदा वायुसेवा निगमको उडान प्रभावित, तीन घण्टासम्म फ्लाइट डिलेको समस्या



वसन्तराज उप्रेती

दुईवटा जहाज नहुँदा वायुसेवा निगमको उडान प्रभावित, तीन घण्टासम्म फ्लाइट डिलेको समस्या

काठमाडौँः अन्तर्राष्ट्रिय उडान गर्दै आएको दुईवटा जहाज मर्मतमा रहँदा एक सातादेखि नेपाल वायुसेवा निगमको सेवामा तीन घण्टासम्म फ्लाइट डिले हुन थालेको छ।

निगमको न्यारोबडी 'सगरमाथा' जहाज गत साता बुधबार मर्मतका लागि सी'चेकका लागि सिंगापुर पठाइएको सहायक प्रवक्ता नवराज कोइरालाले बताएका छन्।

कोइरालाका अनुसार सी'चेक गरिसकेपछि न्यारोबडी जहाज बिहीबार आउनेछ। 'हाम्रो इन्जिनियरिङ विभागले प्रत्येक जहाजको सी'चेकको लागि समयावधि तोकेको हुन्छ। विभागकै निर्देशनमा सी'चेकको लागि जहाज सिंगापुरको एसटी एरोस्पेसमा पठाइएको हो' उनले भने।

एयरबसको जहाज भए पनि खरिदकर्ताले कम्पनीमा जहाज मर्मत नहुने भएको कारण मेन्टिनेन्स रिपेयर ओभरअल (एमआरओ) मा गएर जहाज मर्मत गराउँदै आएको कोइरालाले बताए। निगमले तीन महिना अगाडि मर्मतका लागि क्वालाम्पुर पठाएको बोइङ ७५७ 'गण्डकी'को पनि एउटा इन्जिन साइकल समाप्त हुन लागेकोले सञ्चालनमा नल्याएको निगमले जानकारी दिएको छ। केही हप्ता अगाडि बोइङ मर्मत गरिए पनि ल्याएकै भोलिपल्ट ककपीटको झ्याल (विन्ड सिल्ड) फुटेको थियो। बोइङमा नयाँ विन्ड सिल्ड जडान गरिसकेको निगमले बताएको छ।

निगमले फेब्रुअरी बोइङ उडान गरेपछि विक्री गर्ने योजना बनाएको छ। तर निगमको एकमात्र बोइङ अहिले सञ्चालनमा भने छैन। केही महिना अगाडि बोइङको आर्थिक मूल्याङ्कन लागि निगमले परामर्शको लागि स्विट्जरल्याण्डको फिन्टेक कम्पनी मगाएको थियो।

'जहाजहरुको प्राविधिक कारणले कुनै मर्मतका लागि लगिएको छ। बोइङ तत्काल सञ्चालनमा ल्याइएको छैन। अहिले सिजन नभएको कारण यात्रुको चाप त्यति छैन। आवश्यक परेको खण्डमा हामीले बोइङ पनि सञ्चालनमा ल्याउने छौँ। उडान ढिला भएको छ तर हामीले उडान रद्द भने गरेका छैनौँ।' कोइरालाले भने।

निगमले दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी र एउटा बोइङले सिंगापुर, बैंकक, बैंग्लोर, दिल्ली, मलेसिया, दुबई लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ। हाल पाँचमध्ये दुईवटा जहाज सञ्चालनमा छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell