PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कर्णालीको राजधानीमा सडकको हालः ज्यानमारा भ्वाङ् अनि बग्छ मुख्य चोकमै ढल

कर्णालीको राजधानीमा सडकको हालः ज्यानमारा भ्वाङ् अनि बग्छ मुख्य चोकमै ढल

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आफैमा व्यस्त शहर। कर्णालीको मुख्य प्रवेशद्वार। मान्छेको ओइरो लाग्छ। छिनभर चहल पहल नरोकिने वीरेन्द्रनगर भित्रका अधिकांश सडकको हालत भने बिजोग छ। राजधानी भएपछि सडक स्तरोन्नति हुनुपर्ने, तर हालत उस्तै छ।

निर्माणाधिन फोरलेन सडकको अवस्था त्यस्तै छ नै, त्यसैमाथि बजारको मुख्य क्षेत्रका पिच सडक भ्वाङ् परेका छन् भने, कतै खाल्डाखुल्डी परेका छन्। केही समयअघि पिच गरेका सडक कच्ची सडकभन्दा कमसल देखिएको छ। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकले सवारी चालकदेखि पैदल यात्रु सास्ती खेप्न बाध्य छन्।

यस्ता समस्या आमनागरिकले वर्षौदेखि भोग्दै आएका छन्। स्थानीय तहले जनप्रतिनिधि पाएपछि समस्या समाधान हुने अपेक्षा गरेका नागरिक निराश बनेका छन्। डेढ वर्ष वितिसक्दा पनि जनप्रतिनिधिले व्यस्त शहरभित्रकै सडक स्तरोन्नति नगर्दा बेलाबखत आलोचना खेपिरहेका छन्। 

दुई दर्जन बढी सडक बेहाल

प्रदेश राजधानीभित्रका सबै सडकको अवस्था बेहाल छ। बुद्धपथदेखि टेलिकम जाने सडक, घण्टाघरको माथिल्लो चोकदेखि धमला चोकजाने सडक, नेकपा पार्टी कार्यालयदेखि क्याम्पस रोड जाने सडक, घण्टाघर तल्लो चोकदेखि जिल्ला खेलकुद विकास समिति हुँदै कालिन्चोकतर्फ जाने सडकलगायत दुई दर्जन यस्ता सडक कतै भ्वाङ् परेका छन् भने कतै खाल्डाखुल्डी परेका छन्।

यी सडकमा नगरपालिकाले केही समयअघि पिच सडकमा परेको खाल्डाखुल्डी माटोले पुरेको थियो। नगरपालिकाले पुरेको खाल्डाखुल्डी केही महिनामै उस्तै भएको छ। झण्डै १५/१६ लाख रुपैयाँ खर्चेर माटो र ढुङ्गाले पुरेको सडक अहिले बेहाल बनेका हुन्।

ज्यानमारा भ्वाङ्

बिच सडकमा परेको भ्वाङ्ले काठमाडौंमा एक जनाको मृत्यु भइसकेको छ। अझै पनि जिम्मेवार निकाय चनाखो देखिदैनन्। काठमाडौंमा जस्तै ज्यानमारा भ्वाङ् र खाल्डा भने यत्रतत्र देखिन्छन्। यस्तै हालत छ प्रदेशको राजधानी सुर्खेतमा पनि। नगरपालिकाले नगरभित्र व्यस्त सडकमै परेको भ्वाङ् पुर्न कुनै चासो दिएको छैन्। बसपार्कदेखि जनमोर्चाको पार्टी कार्यालयतर्फ जाने बाटोमा धराप जस्तो भ्वाङ परेको महिनौ बित्यो। तर, अहिलेसम्म सम्बन्धित निकायको त्यसतर्फ ध्यान पुगेको छैन। जब कोही दुर्घटनामा परे भने मात्रै होस् खुल्ने होला!

त्यस्तै भ्याङ् छ मंगलगढी चोकमा। यो चोकमा महिनौ अगाडिदेखि परेको हो। तर, अहिले सम्म पुर्न कसैको ध्यान पुगेको छैन। यसरी मान्छे मार्ने धरापलाई पुर्न सम्बन्धित निकाय किन मौन बस्छन्।

राजधानीको खुला सडकमै ढल

मंगलगढी चोकमा भ्वाङ् र सडकले मात्रै सास्ती दिएको छैन। नागरिकलाई बजारको ढललेसमेत सताएको छ। वीरेन्द्रनगरको मुख्य व्यस्त चोक मंगलगढी चोकमा बजारको ढलसमेत छताछुल्ल पारिएको छ। यसरी बजारको ढलबिच सडकमै छताछुल्ल हुँदा नागरिकले हैरानी खेप्न बाध्य छन्। वर्ष दिनदेखि यो स्थानमा ढल दिनरात बगिरहेको छ।

यो ढलले पैदल यात्रु र नजिकका व्यापारीसमेतलाई हैरानी भएको छ। ‘धेरै भइसक्यो यहाँ यस्तै बजार भरीको ढल आउँछ अनि पैदल यात्रु र हामी व्यापारीलाई बसी नसक्नु भएको छ,’ मंगलगढी चोकमा व्यापार गर्दै आएकी लक्ष्मी खड्काको दुखेसो। उनले थपिन्, ‘फोरलेन निर्माणमा ढिलाईले गर्दा र यो ढलले गर्दा हामी सारै मर्कामा परेका छौँ। जति सक्यो छिटो यो ढलको व्यवस्थापन गर्न अनुरोध गर्छु। साथै फोरलेनको काम पनि छिटो सक्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु।’

यता, वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर बिशाल अधिकारीले बजेट स्विकृत भएलगत्तै टेण्डर प्रक्रियामा गएर काम अघि बढ्ने बताए। चालु आर्थिक वर्षमा एक करोड १० लाख बजेट रहेको भन्दै आगामि चैतदेखि सडकको खाल्डाखुल्डी पुर्ने काम अघि बढ्ने बताए। ‘नगरभित्रको सडक मर्मत सुधार गर्न करिब नगरपालिकाको ४० लाख र सडक रोड बोर्डबाट ६५ लाख बजेट प्राप्त भएको छ।’ उनले भने,‘अब एक हप्तामा बजेट स्विकृत हुन्छ होला त्यसपछि टेण्डर प्रक्रियामा गएर काम सुरु हुन्छ। चैतसम्म काम सुरु हुन्छ।’

यता, नगरप्रमुख देवकुमार सुवेदीले नगरभित्रको सडकलाई अब तत्काल मर्मत गरिने बताए। ‘प्रदेशको राजधानी पनि हो त्यसो भएर हामी पनि यसरी जोखिम यात्रा गर्न हुन्न भन्ने हो। लागी रहेकै छौँ।’ उनले भने,‘नगरपालिकासँग स्रोत साधन पनि कम छ। त्यसैले अलि भनेजस्तो काम गर्न सकिएको छैन।’

त्यस्तै मुख्य चोकमा भएको ढल फोरलेन सडक बने समाधान हुने उनले बताए। ‘अहिले फोरलेन सडक निर्माणाधिन भएकाले नालीहरु राम्रोसँग सुचारु हुन सकेको छैन्,’ उनले भने,‘फोरलेन सडक बने नाली पनि व्यवस्थापन हुन्छ।’



ट्रेन्डिङ पोस्ट

Ncell