
काठमाडौं : सुबिन भट्टराईको उपन्यास 'समर लभ'मा आधारित रहेर बनेको फिल्म प्रदर्शनको तयारीमा छ।
माघ २५ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'समर लभ' मा सुरजसिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीको अभिनय छ। आशिष र रेवतीको यो डेब्यू फिल्म हो।
फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन्।
हलिउड र बलिउडमा उपन्यासमा आधारित रहेर धेरै फिल्महरु बनेका छन् र व्यवसायिक सफलता समेत हासिल गरेका छन्।
'अ वक टू रिमेम्बर', 'नोटबुक', 'द लास्ट सङ', 'डियर जोन' उपन्यासमा आधारित रहेर बनेका हलिउड फिल्महरु हुन्। दर्शकले रुचाएका यी फिल्ममा अमेरिकाका लेखक निकोलस स्पार्क्सका कथा समेटिएका छन्। बेस्ट - सेलिङ उपन्यासमाथि बनेका फिल्महरुलाई दर्शकले रुचाए।
त्यस्तै, 'देवदास', 'काई पो चे', 'थ्री इडियट्स', 'परीणिता' पनि उपन्यास/किताबमाथि बनेका बलिउड फिल्महरु हुन्। यी फिल्महरु व्यवसायिक रुपमा सफल नै भए।
'परालको आगो', 'बासुदेव', 'नुमाफुङ', 'झोला', 'तीन घुम्ती', 'सेतो बाघ', शिरिषको फूललगायतको नेपाली फिल्महरु पनि उपन्यासमाथि बनेका छन्। कति व्यवसायिक रुपले सफल भए कुनै असफल।
६ वर्षअघि 'समर लभ'लाई सुबिनले बजारमा ल्याएका हुन्। 'समर लभ'को ट्रेलर र गीत सार्वजनिक भइसकेका छन्। पाठकले रुचाएको उपन्यासमा आधारित फिल्मलाई दर्शकले कतिको रुचाउला? त्यो त पछि नै थाह हुनेछ।