वीरगंजः सशस्त्र प्रहरीले रौतहटबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ। इशनाथ नगरपालिका वडा नं.१ स्थित रहेको लालबकैया खोला नजिकैबाट सशस्त्र प्रहरी बल नेपालको २ नम्बर बाहिनीबाट खटिएको टोलीले २ वटा बन्दुक र ५ राउण्ड गोलीसहित गौर नगरपालिका–४ टिकुलियाका नकुल पटेललाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए।
भारतबाट नेपाल भित्रिदै गरेको पूर्व सूचनाअनुसार उनलाई नियन्त्रणमा लिइएको उनले बताए। पेस्तोल जस्तो देखिने मेड इन इटाली उल्लेख भएको बन्दुक, त्यसमा लाग्ने १ थान म्यागजिन, एक कटुवा पेस्तोल र ८ एमएमको ५ वटा म्यागजिनसहित उनलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल मुख्यालय महोत्तरी बाहिनीबाट खटिएको प्रहरीको टोलीले बिहान १० बजे उनलाई नियन्त्रणमा लिइ जाँच गर्दा ती हतियार फेला परेको हो।
पटेलले बोकेको झोलामा उनले बन्दुक लुकाई छिपाई रौतहटको सीमा पार गरिरहेको अवस्थमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका पटेललाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ढकालले जनाए।